सिद्धार्थ हबको १० औं एस.क्यु.सी. सम्मेलन सम्पन्न

प्रकाशित मिति:

कार्तिक ३०, रुपन्देही ।
क्वेस्ट नेपाल, सिद्धार्थ हबको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा आज आइतबार १० औं एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) सम्मेलन सम्पन्न भएको छ । विद्यार्थीहरूको सर्वाङ्गीण विकासको उद्देश्यले तिलोत्तमा–५, मणिग्राम स्थित शान्ति नमूना माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो । शैक्षिक महाकुम्भका रूपमा रहेको कार्यक्रममा तिलोत्तमा नगरपालिका र अन्य नगरपालिकाबाट करिब ५०० प्रतियोगी विद्यार्थी तथा करिब २०० अवलोकनकर्ता विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विद्यालय तथा विद्यार्थीहरूमा प्रतिस्पर्धा भन्दा पनि समन्वय र सहकार्यको वातावरण सिर्जना गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्वेस्ट नेपालले जनाएको छ ।
सिद्धार्थ हबका कोअर्डिनेटर तथा मास्टर ट्रेनर प्रकाश चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम निकै प्रभावकारी भएको र यस्ता कार्यक्रममलाई प्राथमिकता दिदै जाने बताउनुभयो । अवलोकन गर्ने विद्यार्थीहरूका माध्यमबाट अन्य विद्यालयहरूमा पनि आगामी वर्ष अझ प्रभावकारी रूपमा कार्यक्रम विस्तार गर्न सकिने विश्वास नगरपालिकाले लिएको उहाँको भनाई छ ।
कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालय र विद्यार्थीको आत्मीयता अभिवृद्धि तथा सहकार्यका लागि कार्यक्रम निकै फलदायी रहेको उल्ल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरी, क्वेष्ट नेपालका सल्लाहकार दिपक गौतम, केन्द्रिय सदस्य मिलन भण्डारी, मास्टर ट्रेनर रविराज काफ्लेले यस कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो समस्या आफैं समाधान गर्ने, समूहमा मिलेर काम गर्ने, समन्वय गर्ने, अनुसन्धान गर्ने तथा २१औं शताब्दीका आवश्यक सामाजिक सीप र व्यक्तित्व विकास गर्ने क्षमताको वृद्धि गर्ने विस्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा १२ वटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिएको थियो । यस वर्षको आकर्षणका रूपमा थिममा आधारित प्यानल छलफल र विद्यार्थीहरूले आफैंले समस्या समाधान गरेको प्रमाणका रूपमा तयार पारेका करिब ५० वटा एस.क्यु.सी. केस स्टडी प्रस्तुत गरिएको थियो ।
यसका साथै नेतृत्व क्षमता विकास तालिम, हाजिरीजवाफ, टे«जर हन्ट, कोडिङ इन पाइथन, भिडियोगा्रफी, कोलाज, पुस्तक समिक्षा लगायतका कार्यक्रम पनि गराइएको थियो । प्रत्येक समूहमा ४ देखि १० जना सदस्य राखेर विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।
कार्यक्रममा विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।