तिलोत्तमा, मंसिर ४ ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा मस्तिष्क पक्षघात तथा स्नायू विकृती भएका बालबालिकाहरुका लागि बिहिबारबाट स्वास्थ्य शिविर सुरु भएको छ । मस्तिष्क पक्षघात स्वावलम्वन समूह नेपालको आयोजना तथा शान्ति नमुना मा.वि.को सह आयोजनामा शिविर सञ्चालन गरिएको हो । प्रभावित बालबालिकाहरुको शिविरमा परिक्षण गरी थप उपचार आवश्यक हुनेहरुलाई अन्यत्र सिफारिस गरिनेछ ।
शिविरमा डा.प्रज्ञा राजभण्डारी, आभार ढुङ्गाना, फिजियोथेरापिष्ट सरला श्रेष्ठ, समूहका डिष्ट्रिक कोओर्डिनेटर बासुदेव चौधरी, शैलेश थापा लगायतले बालबालिकाको परिक्षण तथा सहजिकरण गर्नुहुनेछ । शिविरमा करीव ३० जना बालबालिकाकाहरुको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य लिइएको छ ।
प्रति १००० बालबालिका मध्ये ५ जना बालबालिकामा यस प्रकारको समस्या देखिने विज्ञहरुले बताएका छन् । यस सम्बन्धी अपूर्ण जानकारी तथा गलत मान्यताका कारण समस्या झनै जटिल हुने भन्दै उनीहरुले समस्याको वास्तविक पहिचान र न्यूनिकरणका लागि शिविर फलदायी हुने उनीहरुको विस्वास रहेको छ ।
सोही अवसरमा दीवा स्याहार केन्द्रको समेत उद्घाटन गरिएको छ । यसबाट मस्तिष्क पक्षघात तथा स्नायू विकृती भएका बालबालिका र उनीहरुका अभिभावकहरु लाभान्वित हुने अपेक्षा राखिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।













