मसिर १७, नवलपरासी
“प्रबिधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित बर्दघाट नगरपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत विशेष सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले लैङ्गिक हिंसा केवल महिलामाथिको समस्या मात्र नभई यसले पुरुष तथा बालबालिकालाई समेत प्रभावित पार्ने बताउनुभयो। उहाँले भन्नुभयो, “महिला हिंसाका कारण परिवारदेखि समाजभरिकै वातावरण नै हिसात्मक बन्छ। यस्तो हिंसा अन्त्य गर्न सबै पक्ष एकजुट हुन आवश्यक छ।”
बर्दघाट नगरपालिकाको महिला शाखा प्रमुख अप्सरा सुबेदीको सञ्चालन रहेको कार्यक्रममा अधिवक्ता प्रकाश न्यौपानेले महिला हिंसाका कारण, प्रकार, उजुरी प्रक्रिया तथा कानुनी उपचारका बारेमा विस्तृत सहजीकरण गर्नुभएको थियो। सहभागी महिलालाई घरेलु हिंसा, मानवीय बेचबिखन, साइबर हिंसा, बलात्कार, दुव्र्यवहार, सामाजिक बहिष्कारलगायतका विषयमा जानकारी दिँदै कानुनी अधिकारको सही उपयोगले हिंसाबाट सुरक्षित हुन सकिने कुरा उल्लेख गर्नुभएको थियो।
कार्यक्रम बर्दघाट नगरपालिका–१३ का वडा अध्यक्ष नर बहादुर थारुको अध्यक्षता रहेको कार्यक्रममा सहभागी बर्दघाट–१३ की वडा सदस्य अमृता बि.क., बर्दघाट–१२ की वडा सदस्य दीपकुमारी थारुले महिलामाथि हुने हिंसा रोक्न समुदायको सक्रियता र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
साविक जहदा गाविस, हाल बर्दघाट–१२ र १३ का करिब ४० जना महिलाहरू कार्यक्रममा सहभागी भएका थिए। सहभागीहरूले लैङ्गिक हिंसा पहिचान, उजुरी प्रक्रिया, डिजिटल माध्यमको सुरक्षित प्रयोग तथा समुदायस्तरमा हिंसा निराकरणका उपायबारे विस्तृत जानकारी प्राप्त गरेका थिए।
१६ दिने अभियानमार्फत स्थानीय तहमा जनचेतना वृद्धि, हिंसाका घटनाको रोकथाम तथा पीडितलाई न्याय दिलाउन सहयोग पुर्याउनु मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ।












