सपना, ऊर्जा र सम्भावनाको नयाँ थलोको रुपमा बर्दघाट युवा घर बन्ने 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
मसिर १८ गते 

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा १६ देखि ३० वर्ष उमेर समूहका युवाका लागि युवा घर स्थापना गर्ने अभियान सुरु भएको छ। बर्दघाटलाई युवामैत्री शहर बनाउने लक्ष्यसहित डेनमार्कको होलब्याकस्थित Lucerna Youth House का युवा प्रतिनिधि आगामी फेब्रुअरी २ देखि १४ सम्म नेपाल आउने भएका छन्।


समृद्ध समुदाय विकास केन्द्र र बर्दघाट नगरपालिकाको सहकार्यमा अघि बढाइएको “Youth House Without Borders: होलब्याकदेखि बर्दघाटसम्म” परियोजनाअन्तर्गत डेनमार्कका कला, सीप, नेतृत्व र सामुदायिक काममा सक्रिय युवाहरू बर्दघाट आउने समृद्ध समुदाय विकास केन्द्रका निर्देशक युवराज चापागाईले जानकारी दिनुभयो।


 समुदाय विकास केन्द्र लुम्बिनी प्रदेशमा युवा सशक्तिकरण, उद्यमशीलता प्रवर्द्धन र गुणस्तरीय शिक्षाको पहुँच विस्तारमा सक्रिय रूपमा काम गरिरहेको संस्था हो। संस्थाका अनुसार स्थानीय सरकार र यहाँका व्यावसायिक प्रतिष्ठानहरूले युवालाई सकारात्मक समाज निर्माणतर्फ प्रेरित गर्नुपर्ने आवश्यकतामा थप स्पष्ट हुँदै गएको छ।


चापागाईका अनुसार डेनमार्कबाट आउने टोलीले बर्दघाटका विभिन्न टोल र विद्यालयका झन्डै ३० स्थानीय युवासँग प्रत्यक्ष अन्तरक्रिया, अभिमत सङ्कलन, स्थान–अवलोकन, र समाज–अध्ययन गर्नेछ। दुई साता रहने टोलीलाई स्थानीय परिवारकै घरमा होम–स्टे व्यवस्था मिलाइएको छ।


परियोजनाअन्तर्गत दुई दिन व्यापक अन्तरक्रिया, एक दिन स्थान भ्रमण, स्थानीय राजनीतिक दलसँग युवासम्बन्धी धारणा सुन्ने कार्यक्रम, र युवाहरूले चाहेका गतिविधिको सूची तयार पार्ने योजना छ। पत्रकारहरूले कार्यक्रम सञ्चालनका क्रममा समयको राजनीतिक संवेदनशीलता विचार गर्नुपर्ने सुझाव पनि दिएका छन्। नेपाल बसाइका क्रममा डेनिस युवाले बर्दघाटका युवाको दैनिक जीवन, सामाजिक संरचना, चुनौती र सम्भावनाबारे नजिकबाट बुझ्नेछन्।


डेनमार्क फर्किएपछि उनीहरूले फोटो प्रदर्शनी, भिडियो कथा र सार्वजनिक संवाद कार्यक्रममार्फत नेपाली युवाको जीवन, सपना र संघर्षबारे त्यहाँको समुदायलाई जानकारी गराउनेछन्। निर्देशक चापागाईका शब्दमा,“यो पहल बर्दघाटमा सबै युवाका लागि सुरक्षित, समावेशी र सिर्जनात्मक युवा घर  निर्माणतर्फको महत्वपूर्ण कदम हो। यसले नेपाल–डेनमार्कबीचको युवा सहकार्य र मैत्री सम्बन्धलाई दीर्घकालीन बनाउने अपेक्षा छ।”