प्रकाश न्यौपाने
मसिर २० गते
नवलपरासी । पश्चिम् नवलपरासी। राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसर पारेर पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले नगरभित्र कार्यरत ४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स्मार्ट फोन वितरण गरेको छ।
बिरामी, महिला स्वयंसेविका र स्वास्थ्य संस्थाबीच सूचना प्रवाहलाई सहज, द्रुत र प्रभावकारी बनाउनका लागि नगरपालिकाले सो मोबाइल वितरण गरेको जनाएको छ। नगरप्रमुख शम्भुलाल श्रेष्ठले कार्यक्रममा बोल्दै नगरको स्वास्थ्य क्षेत्रमा खटिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको कार्य सम्पादनलाई सहज बनाउनका लागि सबैलाई स्मार्ट फोन वितरण गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको कदर गर्दै प्रोत्साहन गर्ने नगरपालिकाको नीतिका बारेमा समेत जानकारी दिनुभयो। नगरप्रमुख श्रेष्ठका अनुसार, ६० वर्ष उमेर पुगेर सेवानिवृत्त हुने महिला स्वास्थ्य स्वयंसेविकाले प्रदेश सरकारबाट पाउने रु. ५० हजारमा बर्दघाट नगरपालिकाले थप रु. २ लाख ५० हजार जोडेर कुल रु. ३ लाख दिने नीति अघि सारेको छ।
कार्यक्रममा बर्दघाट नगरका सामाजिक विकास समितिका संयोजक तथा बर्दघाट १६ का वडाध्यक्ष भिमकाजि गुरुङ, वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारी, वडा नं. १३ का वडाध्यक्ष नरबहादुर चौधरी, कार्यपालिका सदस्य सुमित्रा ढकाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर काफ्ले लगायतले बोल्दै स्वयंसेबिकाहरुको सेवा प्रवाहमा सहजता हुने उल्लेख गर्नु भयो ।
नगरका स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत ईश्वरी प्रसाद न्यौपानेले दिएको जानकारीअनुसार, बर्दघाट नगरपालिकामा चिसापानीमा रहेको बर्दघाट नगर अस्पताल र चौपत्तामा रहेको शहिद स्मृती सामुदायिक अस्पताल सहित ४ वटा वर्थिङ्ग सेन्टर, ४ वटा स्वास्थ्य चौकी र १२ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु रहेका छन्। यसका साथै, नगरभित्र १३ वटा गाउँघर क्लिनिक र २६ वटा खोप केन्द्रहरु रहेका छन्। यी सबै स्वास्थ्य संस्थाहरुमा ४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत छन्।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले बालबालिकाहरुको खोप, भिटामिन “ए”, परिवार नियोजन, सरुवा रोग नियन्त्रण, सरसफाई, पोषण लगायतका स्वास्थ्यका विभिन्न क्षेत्रमा केन्द्रित रहेर बर्दघाट नगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत ईश्वरी प्रसाद न्यौपानेको स्वागत मन्तव्य रहेको र स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रिकमान श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।












