पुर्व गृहराज्य मन्त्री कँडेल नवलपरासी २ बाट एकल सिफारिस

प्रकाशित मिति:

प्रकाश न्यौपाने
मसिर २५ गते
नवलपरासी । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ। यसअन्तर्गत नवलपरासी (ब.सु.प) क्षेत्र नं.–२ बाट प्रत्यक्षतर्फ देवेन्द्रराज कँडेलको नाम एकल रूपमा सिफारिस गरिएको छ।


गएको बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले पूर्वराज्यमन्त्री समेत रहेका कँडेलको नाम सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको क्षेत्रीय समितिका सभापति माधवप्रसाद पाण्डेले जानकारी दिनु भयो ।


समानुपातिकतर्फ भने विक्रमप्रसाद यादव र सुनीताकुमारी सुवेदी श्रेष्ठका नाम सिफारिस गरिएको छ। यस्तै राष्ट्रियसभा सदस्यका लागि अर्जुनकुमार पोखरेल र चन्दा चौधरी सिफारिसमा परेका छन्।


कँडेल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ध्रुवबहादुर प्रधानसँग पराजित हुनु भएको थियो।


कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार मंसिर २६ गतेभित्र देशभरका क्षेत्रीय समितालाई उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो। त्यसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा सिफारिस प्रक्रिया तीव्र गतिमा भइरहेको छ।


लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ २६ निर्वाचन क्षेत्र रहेका छन्। तीमध्ये रुकुमपूर्व, रोल्पा, प्युठान र अर्घाखाँचीमा एक/एक, गुल्मी, पाल्पा, बर्दिया र पश्चिम नवलपरासीमा दुई/दुई, दाङ, कपिलवस्तु र बाँकेमा तीन/तीन तथा रूपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन्।


यससँगै आगामी निर्वाचनका लागि कांग्रेसभित्रको तयारी थप सक्रिय बन्दै गएको देखिन्छ।