२ पुस, बुटवल । लुम्बिनी प्रदेशमा समावेशी लोकतन्त्र र मानव अधिकारका लागि नागरिक समाज सबलीकरण (सम–सम) परियोजनको शुभारम्भ गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुको आयोजना तथा क्यानाडा सरकारको आर्थिक सहयोग, सिइसीआइ र प्रोपब्लिकको साझेदारीमा लुम्बिनी प्रदेशका कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका ६ जिल्लामा कार्यक्रम संचालन गरिएको छ । विशेषगरी लोकतन्त्रमा महिला तथा सीमान्तकृत समुदायको सहभागिता र अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित सम–सम परियोजना कपिलवस्तुको बाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिका, रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिका तथा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा सञ्चालनमा आएको हो ।
‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्नुपर्छ’

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले परियोजनाको उद्घाटन गर्दै सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले राज्यका सबै निकायले समावेशी र न्यायपूर्ण नीतिहरू अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियामा सीमान्तकृत समुदाय अझै पछाडि परेको बताउनुभयो। ती समुदायका समस्या पहिचान गरी प्रभावकारी नीति तथा कार्यक्रम मार्फत अधिकारको प्रत्याभूति गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
समान अवसर र पहुँच सुनिश्चित नगरेसम्म समग्र विकास सम्भव नहुने उहाँको भनाइ थियो। स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य आवश्यक रहेको उल्लेख गर्दै महिला, दलित, आदिवासी जनजाति तथा पिछडिएका वर्गका अधिकार संरक्षणका लागि कानुनी तथा संस्थागत सुधार अपरिहार्य रहेको उहाँले बताउनुभयो।
अब लक्षित वर्गका कार्यक्रम होटलभन्दा पालिकाका हलहरूमा सञ्चालन गर्दा बढी प्रभावकारी हुने धारणा राख्दै उहाँले सम–सम परियोजना सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको नतिजा तुरुन्त नआउने भएकाले धैर्यका साथ दीर्घकालीन प्रभावका लागि काम गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
‘सम–सम परियोजनाले समाज रूपान्तरणमा टेवा पुग्छ’

प्रदेश सभा सदस्य मधुसूदन चौधरीले सम–सम परियोजनाले समाज रूपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। परियोजनाले समुदायस्तरमा चेतना अभिवृद्धि, सामाजिक समावेशीकरण र नागरिक सशक्तिकरणमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उहाँले पछाडि पारिएका तथा सीमान्तकृत समुदायको अधिकार, सहभागिता र पहुँच विस्तारमा परियोजनाले सहयोग गर्ने बताउनुभयो।
स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाबीचको सहकार्यले मात्र दिगो सामाजिक रूपान्तरण सम्भव हुने उहाँको धारणा थियो। परियोजनालाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता समेत उहाँले औंल्याउनुभयो।
‘निरन्तरता होस्, सफल होस्’

प्रदेश सभा सदस्य निर्मला चौधरीले परियोजनाको निरन्तरता र सफलताको कामना गर्नुभयो। सम–सम परियोजनाले समाज रूपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उहाँले महिला, सीमान्तकृत तथा पिछडिएका समुदायको सशक्तिकरणमा यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो। सबै सरोकारवाला निकायको सहकार्यबाट मात्र अपेक्षित सफलता हासिल गर्न सकिने उहाँको जिकिर थियो।
‘प्रदेशबाट आवश्यक सहयोग र समन्वय हुने प्रतिबद्धता’

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले सम–सम परियोजनाको स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्रदेशस्तरबाट आवश्यक सहयोग र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले परियोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न र पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्न यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक साथ–सहयोग रहने उहाँले स्पष्ट पार्नुभयो।
‘समावेशी लोकतन्त्र र मानव अधिकार प्रवर्द्धनका लागि काम गर्छौं’

सिइसीआईका कन्ट्री रिप्रेजेन्टेटिभ दीपक खड्काले समावेशी लोकतन्त्र र मानव अधिकार प्रवर्द्धनका लागि सम–सम परियोजना सञ्चालन गरिएको बताउनुभयो। परियोजना सबै सरोकारवालासँग सहकार्य, समन्वय र मार्गदर्शनको आधारमा अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो। स्थानीय सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै प्रदेश र संघीय सरकारसँग समन्वय गरी नीति तहका कार्यक्रमहरूमा संलग्न हुने अवसरहरूको पहिचान गरिने जानकारी दिनुभयो। उहाँले स्थानीय सरकार, नागरिक समाज संस्था, महिला, युवा तथा सीमान्तकृत समुदायबीचको सहकार्य सुदृढ गर्दै समावेशी नीति निर्माण र कार्यान्वयनमा योगदान पु¥याउने लक्ष्य लिएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “परियोजनाले सुशासन, उत्तरदायित्व र मानव अधिकारका सवालमा नागरिकको सचेतना बढाउँदै स्थानीय शासन प्रणालीलाई अझ जवाफदेही बनाउने लक्ष्य लिएको छ।”
‘नागरिक समाज सशक्त नहुँदासम्म लोकतन्त्र बलियो हुँदैन’

प्रो–पब्लिकका सुशासन तथा समावेशीकरण सल्लाहकार प्रकाश दाहालले नागरिक समाज सशक्त नहुँदासम्म लोकतन्त्र बलियो नहुने बताउनुभयो। परियोजनाको वैचारिक तथा नीतिगत आधारबारे जानकारी दिँदै उहाँले यो परियोजना नेपालको संवैधानिक व्यवस्था र विद्यमान कानुनी ढाँचासँग मेल खाने गरी डिजाइन गरिएको स्पष्ट पार्नुभयो। साथै, राष्ट्रिय तहका परामर्शहरूको नतिजा र नेपालको अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिबद्धतामा आधारित रहेको उल्लेख गर्नुभयो।
महिला, दलित, आदिवासी जनजाति, युवा तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु परियोजनाको मूल लक्ष्य रहेको उहाँको भनाइ थियो। परियोजनाले स्थानीय तहमा नीति संवाद, नागरिक निगरानी, नेतृत्व विकास र संस्थागत क्षमता अभिवृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरियो।
शुभारम्भ कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्र अर्यालले परियोजनाका गतिविधि स्थानीय तहकै कार्यक्षेत्रसँग जोडिएकाले पालिकाको आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। समुदायलाई परनिर्भर नभई सशक्त बनाउने गरी काम गर्न सुझाव दिनुभयो।

बर्दघाट नगरपालिकाका मेयर शम्भूलाल श्रेष्ठले परियोजनामा स्थानीय तहको पूर्ण सहयोग रहने उल्लेख गर्दै बढ्दो लागूऔषध समस्यालाई पनि कार्यक्रमले समेट्नुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा सैनामैना नगरपालिकाकी उपमेयर बिना राना, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी, सरावल गाउँपालिकाका अध्यक्ष सुखादी प्रसाद चौधरी, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयकी महाशाखा प्रतिनिधि कमला ज्ञवाली, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष सुसिला बेल्वासेलगायतले सुशासन, पारदर्शिता र समावेशीतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो।

क्यानडा सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने महिला तथा सीमान्तकृत समुदाय लक्षित यस परियोजनाको कुल बजेट २० करोड रुपैयाँ रहेको छ। परियोजना सन् २०२८ सम्म सञ्चालन हुनेछ र चार साझेदार संस्थाको सहकार्यमा कार्यान्वयन गरिनेछ। कार्यक्रममा नगरपालिकाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशसकीय अधिकृत, महिला तथा बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधी सिद्धार्थ सामाजिक विकास केन्द्रका नीति सल्लाहकार गुणनिधि भुसाल, उपाध्यक्ष शोभा आचार्य, सचिव दुर्गा अर्याल, कार्यक्रम संयोजक कमला शुक्ला, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, इन्सेक प्रतिनिधि रिमा बीसी, लुम्बिनी अपाङ्ग विकास केन्द्रका सचिव शिवनन्द वर्मा, सहयोगी नेपाल नवलपरासीका अध्यक्ष तिलकुमार श्रेष्ठ, किशोरी अधिकार मञ्चकी कोषाध्यक्ष शेषमती मल्लाह, फाइनान्स डिपार्टका निर्मल कुँवर, सीईएफ कमल सिंह थारुल गायतको उपस्थिति रहेको थियो। सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शोभा आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन परियोजनाकी गीता अर्यालले गर्नुभएको थियो।












