वन तथा वातावरण मन्त्रालयका मन्त्रीको प्रेस सल्लाहाकारमा सिन्धुपाल्चोकका सुरेश तिमल्सिना नियुक्त

प्रकाशित मिति:

वन तथा वातावरण मन्त्रालयका मन्त्री माधव चौलागाईंले आफ्नो मन्त्रालयमा प्रेस सल्लाहकारका रूपमा सिन्धुपाल्चोक जिल्लाको बाह्बिसे नगरपालिका–९ निवासी सुरेश तिमल्सिनालाई नियुक्त गरेका छन्। मन्त्रालय स्रोतका अनुसार तिमल्सिनालाई कुनै पनि प्रकारको सेवा सुविधा, तलब तथा भत्ता नलिने गरी निःशुल्क सेवाका रूपमा कार्य गर्ने गरी नियुक्ति गरिएको हो।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका तिमल्सिना अनुभवी पत्रकार तथा उत्कृष्ट स्टोरी लेखकका रूपमा परिचित छन्। उनले विभिन्न सञ्चार माध्यममार्फत तथ्यपरक, विश्लेषणात्मक र जनमुखी समाचार तथा लेखनमार्फत आफ्नो पहिचान स्थापित गर्दै आएका छन्।

देशको वर्तमान जटिल परिस्थिति र चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयको कामलाई प्रभावकारी रूपमा अघि बढाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तिमल्सिनाले कुनै पनि सेवा सुविधा तथा तलब भत्ता नलिई जिम्मेवारी सम्हाल्ने निर्णय गरेका हुन्। उनको यस कदमले निस्वार्थ सेवाको भावना उजागर गर्नुका साथै पत्रकारिता पेशाको गरिमा र प्रतिष्ठालाई थप उचाइमा पुर्‍याएको टिप्पणी गरिएको छ।

मन्त्रालयका गतिविधि, नीति तथा कार्यक्रमलाई आमसञ्चार माध्यममार्फत जनतासमक्ष प्रभावकारी रूपमा पुर्‍याउन तिमल्सिनाको भूमिका महत्वपूर्ण हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।