प्रकाश न्यौपाने
पौष २२ गते
नवलपरासी । “स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार” भन्ने मूल नाराका साथ पश्चिम नवलपरासीको बर्दघाटमा प्रथम बर्दघाट एक्सपो–२०८२ सञ्चालन हुने भएको छ। उद्योग व्यापार संघ, बर्दघाट नवलपरासीको आयोजनामा बर्दघाट नगरपालिका–४ स्थित हरियाली नगरको बर्दघाट मण्डपमा माघ १३ गतेदेखि २५ गतेसम्म १३ दिनसम्म एक्सपो सञ्चालन हुने जानकारी आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष तथा एक्सपो मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले एक्सपोले बर्दघाट नगरक्षेत्रको व्यापारिक, पर्यटन तथा सांस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार एक्सपो अवधिभर करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ७ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
एक्सपो आयोजना गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने र ४२ लाख रुपैयाँ आम्दानी भई करिब १२ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ। उक्त बचत रकम बर्दघाट नगरक्षेत्रको व्यावसायिक हकहित तथा सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ।
त्यसैगरी उद्योग व्यापार संघ बर्दघाटका वरिष्ठ उपाध्यक्ष तथा सह–संयोजक दिनेश न्यौपानेले एक्सपोमा बर्दघाट नगरपालिकाभित्र उत्पादित कृषिजन्य वस्तुहरूको विशेष प्रदर्शनी गरिने जानकारी दिनुभयो। साथै नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि विशेष कार्यक्रम, जानकारीमूलक भिडियो प्रदर्शन तथा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने उहाँले बताउनुभयो।
पत्रकार सम्मेलनको सञ्चालन गर्दै संघका महासचिव नारायण भण्डारीले एक्सपो प्रवर्द्धनसम्बन्धी भिडियो निर्माण प्रतियोगिता आयोजना गरिने र उत्कृष्ट कन्टेन्ट क्रिएटरलाई भ्युको आधारमा १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो। एक्सपोका मुख्य आकर्षणमा विभिन्न जातजाति तथा संस्कृतिलाई झल्काउने घर तथा खानाका परिकार, विद्यार्थीहरूद्वारा विज्ञान प्रदर्शनी, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति, कृषि यन्त्र तथा दुग्ध परिकारको प्रदर्शनी, बाली–बस्तु प्रदर्शनी, विद्यालयस्तरीय प्रतियोगिता, अत्यधिक रुचाइएको लण्डन ब्रिज आकृतिको प्रवेशद्वार तथा बर्दघाट नगरका १६ वटै वडाका १६ स्टल रहनेछन्, जहाँ हरेक वडाका विशेष उत्पादन प्रदर्शन गरिनेछ। एक्सपो अवलोकनका लागि प्रवेश शुल्क ८० रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूका लागि सहुलियत दर रहनेछ। ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
स्थानीय कृषि उपज, महिला उद्यमी तथा घरेलु उद्योगका उत्पादन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामग्री, विविध खानाका परिकार, बालबालिकाका लागि मनोरञ्जनात्मक बाल उद्यान, सञ्चार केन्द्र तथा सञ्चारकर्मीहरूको सहजताका लागि छुट्टै समाचार डेस्क समेत रहने आयोजकले जनाएको छ।












