नेपाली कांग्रेसद्वारा मत बदर हुन नदिन नवलपरासीमा मतदाता शिक्षा

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फागुन १५ गते 
नवलपरासी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रूपमा प्रचारप्रसार सुरु भएसँगै नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा मतदाता शिक्षा अभियानलाई तीव्र बनाइएको छ। घरदैलो कार्यक्रमसँगै मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउने उद्देश्यले विभिन्न वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिको आयोजनामा फागुन ९ देखि १४ गतेसम्म सरावल गाउँपालिका, सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका वडामा प्रतिवडा ५ देखि ८ जनाका दरले मतदाता शिक्षा सञ्चालन गरिएको जिल्ला सदस्य रामबहादुर क्षेत्रीले जानकारी दिनुभयो। क्षेत्रीय सभापति माधव पाण्डेको समन्वयमा गाउँ–गाउँ पुगेर मतदाता सचेतना फैलाइएको बताइएको छ। त्यस्तै, नवलपरासी–२ (क) अन्तर्गतका २१ वटै वडामा मतदाताको संख्याका आधारमा प्रति वडा ५ देखि ८ जनासम्म स्वयंसेवक परिचालन गरिएको छ। सरावल, रामग्राम र सुनवल क्षेत्र समेटेर ४० जनालाई प्रशिक्षण दिइएको प्रदेश सभापति यमप्रसाद भुषाल (दीपक) ले जानकारी दिनुभयो।भुषालका अनुसार यसपटक मतपत्र दुई वटा रहने भएकाले दुवै मतपत्रमा कसरी मतदान गर्ने भन्ने विषयमा विशेष अभ्यास गराइएको छ। “मत हाल्न जान्ने तरिका सिकाउने र हालेको मत बदर नहोस् भन्ने उद्देश्यले मतदाता शिक्षा गरिएको हो,” उहाँले भन्नुभयो।

निर्वाचन क्षेत्र नम्बर २ बाट भीम बहादुर थापा (भरत) प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनुभएको छ भने समानुपातिकतर्फ सुनिता सुवेदी श्रेष्ठ उम्मेदवार हुनुहुन्छ। थापा घरदैलो कार्यक्रममा जाँदा कांग्रेस समर्थक कार्यकर्ताले नमूना मतपत्र बोकेर मतदातालाई सही तरिकाले छाप लगाउने अभ्यास गराउँदै हिँडिरहेका छन्। विगतका निर्वाचनमा मतपत्रमा छाप लगाउने तरिका नबुझ्दा बदर मतको संख्या उल्लेख्य रहेको भन्दै थापा टोलीले मतदाता शिक्षालाई अभियानकै रूपमा अघि बढाएको जनाएको छ।

नेपाली कांग्रेस रामग्राम नगर सचिव विकास घिमिरेले मतदाताको मत सदुपयोग गर्ने उद्देश्यले रामग्राममा फागुन १३ र १४ गते मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। “आफूले चाहेको उम्मेदवार र दललाई दिएको अमूल्य मत खेर नजाओस् भन्ने उद्देश्यले प्रचारप्रसारसँगै मतदाता शिक्षालाई पनि सँगै लगेका हौं,” घिमिरेले भन्नुभयो। हरेक दिनको घरदैलो कार्यक्रममा ३/४ जनालाई विशेष रूपमा मतदाता शिक्षाका लागि खटाइने उहाँको भनाइ छ।

यसैबीच, निर्वाचन आयोगले आइतबारदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। जिल्ला निर्वाचन कार्यालय नवलपरासीकी प्रमुख सुजता खत्रीका अनुसार जिल्लाका सबै ७४ वडामा स्वयंसेवक खटाएर मतदाता शिक्षा सञ्चालन गरिएको छ।

घरदैलो तथा टोल–टोलमा पुगेर जानकारी दिइनुका साथै नमूना मतदान कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ। मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ।