नेपाल शिक्षक सङ्घ तिलोत्तमाको प्रतिनिधि सभा सम्पन्न; शिक्षक र विद्यालय सम्मानित
तिलोत्तमा, १४ चैत्र । नेपाल शिक्षक सङ्घ, तिलोत्तमा नगर समितिको ११औँ प्रतिनिधि सभा शनिबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। नगर अध्यक्ष प्रचण्ड जिसीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक सङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पङ्गेनीले शिक्षकहरूका पेसागत हकहितका लागि सधै क्रियाशिल रहन आग्रह गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षक सङ्घका केन्द्रीय सदस्य कुलप्रसाद लामिछाने, जिल्ला अध्यक्ष रूपकुमार रायमाझी, प्रदेश सदस्य डिल्लीराम गैरे, जिल्ला सचिव धनबहादुर रानाले शिक्षकहरूको हकहित र शैक्षिक गुणस्तर सुधारका लागि सङ्घ सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।
सङ्घले आफ्नो सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका पाँच जना शिक्षकहरूलाई भावपूर्ण बिदाइ तथा सम्मान गरेको छ। सम्मानित हुनेहरूमा: दानबहादुर पुन (गौतम बुद्ध मावि), नाथुप्रसाद चौधरी (जनहित मावि), भगवती अर्याल (मधवलिया मावि), पार्वती कुमारी गौतम (मेदिनी आवि), विष्णुप्रसाद थारू (बालकल्याण आवि) रहनु भएको छ ।
त्यसैगरी, पशुपति माविका प्रधानाध्यापक वेदनारायण भट्टराई र दुर्गा वैदिक संस्कृत विद्यापीठकी प्रधानाध्यापक माया पाण्डेलाई दीर्घसेवा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।
यस्तै ज्योति आधारभूत विद्यालयका शिक्षक जमुना मल्ल, बोहिया आधारभूत विद्यालयका सम्झना गोदार, जनहित माविका रम्भा चौधरी, गौतम बुद्ध माध्यमिक विद्यालयका काशीराम ढकाल र इन्दु ढकाल, बरवलिया माविका रामबेलास यादव , शान्ति नमुना माविका सीता पुन पूर्जा, रोमा घिमिरे (प्राविधिक धारतर्फ) र लेखा अधिकृत पुष्पराज सापकोटा, मेदिनी आधारभूत विद्यालयका कार्यालय कर्मचारी देउकुमारी थारूलाई दीर्घ सेवाद्वारा सम्मान गरिएको छ ।
शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तित्व र संस्थालाई पनि सो अवसरमा पुरस्कृत गरियो । माध्यमिक शिक्षा परीक्षा (SEE) मा १८ जना विद्यार्थीले ४.० GPA सहित सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको शान्ति नमुना माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा सम्मानित गरियो। यस्तै राष्ट्रिय स्तरको कपर्दी रेफ्रीको पहिचान बनाउन सफल शान्ति नमुना माविकै शिक्षक सुशिल पाण्डेलाई विशेष सम्मान प्रदान गरियो।
यसै वर्ष नयाँ नियुक्ति भएका, सरुवा भई आएका तथा अस्थायी, राहत र अनुदान कोटामा नियुक्त शिक्षकहरूलाई पनि ससम्मान स्वागत गरिएको थियो।
सभामा नगर सचिव दिनेश खड्काले सङ्घको साङ्गठनिक प्रतिवेदन र अर्थ सचिव गुरुप्रसाद उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा तिलोत्तमा शिक्षक महासङ्घका अध्यक्ष मृगेन्द्र रिजाल, बुटवल उपमहानगरका अध्यक्ष शिवप्रसाद अर्याल, कर्मठ सदस्य लोकनाथ कंडेल, सदस्य सुस्मिता लामिछाने लगायतले प्रतिनिधि सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उपाध्यक्ष अमर डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव दिनेश खड्काले गर्नुभएको थियो।












