बर्दघाटमा महिला सशक्तिकरणका लागि क्षमता विकास तालिम सम्पन्न

प्रकाशित मिति:

चैत १८ गते
नवलपरासी । महिला अधिकार संगठन बर्दघाट–१६ को आयोजनामा तथा बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा महिला सशक्तिकरणका लागि क्षमता विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। महिला दिदीबहिनीहरूलाई नेतृत्व विकासतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय आमा समुह र बुहारी समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


बर्दघाट १६ को वडा कार्यालयको सभाहलमा १६ गते देखी १८ गतेसम्म गरि ३ दिनसम्म सञ्चालन भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं. १६ का अध्यक्ष भिमकाजी गुरुङले महिलाहरूले समाजको अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यस्तै, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सहजीकरण गर्दै महिला हिंसा, महिला अधिकार र कानुनी संरक्षणका विषयमा विस्तृत जानकारी दिनुभयो।



कार्यक्रममा तीन दिनसम्म सहजीकरण गर्दै अधिवक्ता प्रकाश न्यौपानेले महिला सशक्तिकरणका व्यवहारिक अभ्यास, राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा महिलाको भूमिका तथा नेतृत्व विकासमा यसको प्रभावबारे सहजीकरण गर्नुभएको थियो। उहाँले सशक्त महिला नै समृद्ध समाजको आधार हुने उल्लेख गर्नुभयो।


कार्यक्रममा वडा सदस्य नरकुमारी गुरुङले समाजको नेतृत्व गर्नका लागि महिला सशक्तिकरण अपरिहार्य रहेको उल्लेख गर्दै महिलाहरूले आफ्नो क्षमता विकास गर्दै नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिनुभयो। उहाँले महिलालाई संगठित, आत्मविश्वासी र निर्णयक्षम बनाउन यस्ता तालिम कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।


बर्दघाट नगरपालिका महिला, बालबालिका शाखा प्रमुख अप्सरा सुवेदीले कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै तालिमबाट सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा सहभागीहरुको तर्फ बाट बोल्दै
सावित्री अधिकारीले कार्यक्रममा कानुनी शिक्षाका बारेमा बुझ्ने अवसर पाएको उल्लेख गर्दै तीन दिनको तालिम ब्यवहारिक भएको बताउनु भयो । त्यस्तै सुस्मा गुरुङ्गले राज्यले विभिन्न ऎनहरु मार्फत महिलालाई सकारात्मक विभेद गरेको बिषय बस्तु जानकारी पाएको धारणा राख्नु भयो । भने सहभागी दिपा गुरुङ्गले नेतृत्वको बिकास र ब्यवहारगत रुपमा सिकाइ हासिल बताउदै सिकेका बिषय बस्तुलाई ब्यवहारमा परिबर्तन गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नु भयो । साथै सहभागीहरुले यस्ता कार्यक्रमले आत्मविश्वास वृद्धि भई नेतृत्व क्षमतामा सुधार आउने विश्वास व्यक्त गर्नु भएको छ ।


कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै महिला सङ्गठनकि अध्यक्ष डिलमाया गुरुङले महिलाहरूलाई राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा नेतृत्व लिन सक्षम बनाउने, नेतृत्वका लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएकोमा उद्देश्य अनुरुप कार्यक्रम सम्पन्न भएको बताउनुभयो। उहाँले यस्ता तालिमले महिलाहरूलाई आफ्नो परिचय प्रस्तुत गर्न, विचार राख्न र नेतृत्व शैलीमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।


महिला अधिकार संगठनकि सदस्य सुद्दा गुरुङको सञ्चालन तथा सचिब कमला गुरुङ्गको स्वागत तथा अध्याक्ष दिलमाया गुरुङ्गको अध्यक्षता रहेको थियो ।