✍️ भरत प्रधान
लिस्बन, २९ चैत । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्केट (बिस्का) जात्रा मनाउने भएका छन् ।
नेवाः समाज पोर्चुगलको आयोजनामा यही अप्रिल १५ तारिख (वैशाख २ गते) का दिन राजधानी लिस्बनमा यहाँ रहेका नेवार समुदायले भव्यताका साथ बिस्केट जात्रा मनाउने भएका हुन् । नेवारी रीतिरिवाज, भाषा, कला र धर्मसंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदानसहित भव्यताका साथ बिस्केट जात्रा मनाउन लागिएको समाजका अध्यक्ष अमृतरत्न शाक्यले जानकारी दिए ।
शाक्यका अनुसार कार्यक्रममा नेवारी धर्म–संस्कृति र परम्परा अनुसार भैरवको विशेष पूजाआराधना गरिनेछ । साथै समयबजी, टीकाटाला, ध्वजा र सगुनसहित एकापसमा शुभकामना आदानप्रदानको कार्यक्रम तय गरिएको छ । नेवारी कला र संस्कृतिको माध्यमबाट पोर्चुगलमा रहेका नेवार समुदायबीच आपसी सहकार्य, मेलमिलाप र भाइचारालाई थप प्रगाढ बनाउन जात्राको आयोजना गरिएको उनले बताए ।
सो अवसरमा लाखे नाच, धिमे बाजा, बाँसुरी धुनलगायतका नेवारी कला र संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत गरिने जनाइएको छ । लिस्बनको आरोइसस्थित ग्रिल एन्ड चिल रेस्टुरेन्टको हलमा हुने उक्त कार्यक्रममा सहभागी हुन समाजले पोर्चुगलवासी नेवार समुदायलाई विशेष आग्रह समेत गरेको छ ।













