पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर : १७६ नेपाली लाभान्वित

प्रकाशित मिति:

✍️भरत प्रधान
लिस्बन २२, वैशाख । पोर्चुगलको ओदिमिरास्थित जम्बुजिरामा सञ्चालित राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवा शिविर सम्पन्न भएको छ ।

लिस्बनस्थित नेपाली दूतावासले हालै सञ्चालन गरेको घुम्ती शिविरबाट सो क्षेत्रका एक सय ७६ जना सेवाग्राही नेपाली लाभान्वित भएका छन् । घुम्ती शिविरबाट एक सय १४ जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको दूतावासले जनाएको छ । तीमध्ये एक सय आठ जनाको नवीकरण, दुई जनाको हराएको र चार जना बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन प्राप्त भएका हो ।

शिविरबाट १६ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ जनाको अन्य कागजात प्रमाणीकरण, एक सय १४ जनाको राहदानी आवेदन, १० जनाको राहदानी वितरणलगायत अन्य सेवा गरी कुल एक सय ७६ नेपालीले सेवा लिएको दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए । शिविरबाट १६ हजार ९६० युरो अर्थात् झन्डै रु ३० लाख राजस्व सङ्कलन भएको उनले बताए। राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणका लागि टाढा–टाढाबाट दूतावास धाउन नपरोस् भन्ने उद्देश्यका साथ नेपालीहरूको सहजताका लागि सोही स्थानमा घुम्ती शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको थियो । यस्तै, तयार भएर आएका राहदानी वितरण, प्रहरी रिपोर्ट र अन्य कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा प्रदान गरिएको थियो ।

यसअघि दूतावासले पोर्चुगलको फारो, मदेइरा र पोर्तोमा घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई सेवा प्रदान गरेको थियो ।