शान्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा हौसला अभिवृद्धि कार्यक्रम
मणिग्राम, १ जेठ । रूपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि बधाई तथा हौसला अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
मणिग्रामस्थित विश्राम बाटीकामा आयोजित एक औपचारिक कार्यक्रमका बीच विद्यार्थीहरूलाई बधाई ज्ञापन गरिएको हो। विद्यार्थीहरूबीच आत्मीयता बढाउने र उनीहरूको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोे थियो।
तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुम्रेले उत्तीर्ण विद्यार्थीहरू भोलिका देशका कर्णधार भएको उल्लेख गर्दै लगनशीलताका साथ अघि बढ्न प्रेरणा दिनुभयो। उहाँले स्थानीय तह सधैँ शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको हितमा प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईले विद्यार्थीहरूको सफलताले विद्यालयको गरिमा झन् बढाएको बताउनुभयो।
कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। उहाँले शान्ति नमुनाले सधैँ संस्कारयुक्त र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र आगामी दिनमा पनि विद्यार्थीहरूले विद्यालयको नाम उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै प्लस टु संयोजक राजेन्द्र के.सी. ले विद्यालय तह पार गरेर उच्च शिक्षामा प्रवेश गर्न लागेका विद्यार्थीहरूलाई सही मार्गनिर्देशनको आवश्यकता पर्ने कुरामा जोड दिदै आगामी शैक्षिक यात्रा तय गर्दा ध्यान दिनुपर्ने विषयमा प्रष्ट पार्नुभयो ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको बधाई सत्रमा उत्तीर्ण विद्यार्थीहरूलाई खादा ओढाएर सफलताको शुभकामनासहित बधाई दिइएको थियो। सो अवसरमा कक्षा १० का उत्तीर्ण विद्यार्थीहरूको तर्फबाट चार जिपिए प्राप्त गर्न सफल प्रकृति काफ्लेले विद्यालयमा बिताएका पलहरू र आफ्नो अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा शिक्षक रजनी के.सी. ले स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो।
सोही अवसरमा शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।














