वक्तृत्वकलामा राष्ट्रिय मा.वि, प्रथम, ग्लोरीयस दोस्रो, न्यू लाइफ तेस्रो र ग्लोबल सान्त्वना
जेठ १५ गते
नवलपरासी । बर्दघाट युथ नेटवर्क, बर्दघाट–४ को आयोजनामा “समाज रूपान्तरणमा युवाको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १९ औं गणतन्त्र दिवसको अवसरमा बर्दघाट क्षेत्रका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत १५ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले समाज परिवर्तन, नेतृत्व विकास, सकारात्मक सोच, शिक्षा, सुशासन तथा युवाको जिम्मेवारीका विषयमा प्रभावशाली विचार प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा दीक्षा पाण्डे प्रथम हुन सफल भएकी छन् । राष्ट्रिय मा.वि. माकर मा अध्ययनरत उनले प्रथम भइ नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् । त्यसैगरी रितु पाण्डे द्वितीय भएकी छन् । ग्लोरियस एकेडेमीमा अध्ययनरत उनले नगद ५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् । भने उमा न्यौपाने तृतीय भएकी छन् । न्यु लाइफ मा.वि. मा अध्ययनरत उनले नगद ३ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् ।त्यस्तैगरी ग्लोवल एकेडेमीमा अध्ययनरत आयुष अधिकारी सान्त्वना हुदै नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि जनकल्याण साकोसका अध्यक्ष कुलदिप आचार्यले युवाहरू राष्ट्रका शक्ति, सम्भावना र परिवर्तनका संवाहक भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवामा आत्मविश्वास, नेतृत्व क्षमता तथा सकारात्मक सोचको विकास गर्ने बताउनुभयो । उहाँले समाज रूपान्तरणका लागि युवाहरूले सिर्जनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वागत गर्दै बर्दघाट युथ नेटवर्कका उपाध्यक्ष खुमाकान्त न्यौपानेले समुदायमा सचेतना फैलाउन तथा देश विकासमा युवाको भूमिकालाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमले समाज रूपान्तरणको अभियानमा एउटा महत्वपूर्ण “इट्टा” थप्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिताको उद्देश्य युवाहरूमा समाजप्रतिको जिम्मेवारीबोध गराउने, सामाजिक परिवर्तन र विकासमा युवाको भूमिका उजागर गर्ने, नेतृत्व क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने तथा वक्तृत्वकला, विचार अभिव्यक्ति र तर्क प्रस्तुत गर्ने क्षमता विकास गर्नु रहेको बर्दघाट युथ नेटवर्कका सचिब सन्देश सापकोटाले बताउनु भयो । सकारात्मक सोच, सिर्जनशीलता र नवप्रवर्तनतर्फ युवालाई प्रेरित गर्ने, समाजमा रहेका विकृति–विसंगतिप्रति सचेत बनाउने तथा शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन र सामाजिक न्यायका विषयमा युवाको सहभागिता बढाउने लक्ष्यसमेत राखिएको थियो ।
प्रतियोगितामा न्यू लाइफ मा.वि., राजा मा.वि., दाउन्ने देवी मा.वि., ग्लोरियस एकेडेमी, कुमुदिनी इ.मा.वि., ग्लोबल एकेडेमी, शान्ती निकुञ्ज मा.वि., नित्यानन्द रत्नकुमारी मा.वि., वाल्मीकि मा.वि., होलिकेयर इ.बो. स्कुल, राष्ट्रिय मा.वि., दिव्यज्योति मा.वि., विज्डम इ.बो. स्कुल तथा गङ्गा मा.वि. बाट विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम बर्दघाट युथ नेटवर्कका अध्यक्ष संजय कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव सन्देश सापकोटाले गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा शेषकान्त पौडेल, प्रकाश न्यौपाने र एकनारायण तिमिल्सिना रहनुभएको थियो ।












