शान्ति नमूना माध्यमिक विद्यालयमा विश्व वातावरण दिवसमा विविध कार्यक्रम सम्पन्न
तिलोत्तमा, रुपन्देही । विश्व वातावरण दिवस २०२६ को अवसरमा शान्ति नमूना माध्यमिक विद्यालय ले वातावरण संरक्षण, प्लास्टिक प्रदूषण न्यूनीकरण तथा दिगो जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न सचेतनामूलक तथा सहभागितामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ।
विद्यालयले यस वर्षको विश्व वातावरण दिवसको नारालाई आत्मसात् गर्दै धेरै कार्यक्रमहरू सञ्चालन गरेको भए पनि कुनै पनि कार्यक्रममा प्लास्टिकजन्य फ्लेक्स ब्यानर प्रयोग नगरी वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिएको छ। साथै विद्यालयको प्राथमिक भवनलाई औपचारिक रूपमा प्लास्टिकमुक्त क्षेत्र (Plastic Free Zone) घोषणा गरिएको छ।
कार्यक्रमअन्तर्गत कक्षा ९ र ६ का १०० जना विद्यार्थीहरूलाई तिलोत्तमा पार्क तथा मणिग्राम नर्सरीको शैक्षिक अवलोकन भ्रमण गराइएको थियो। भ्रमणमार्फत विद्यार्थीहरूलाई हरित वातावरण संरक्षणको महत्व, वातावरण संरक्षणमा संलग्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका तथा वातावरण जोगाउने विभिन्न उपायहरूको जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी विश्व वातावरण दिवससँग सम्बन्धित विषयमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा १२ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तन र प्लास्टिक प्रदूषणप्रतिको उनीहरूको दृष्टिकोण मूल्याङ्कन गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।
विद्यालय परिसरलाई सफा, स्वस्थ र वातावरणमैत्री बनाउन इको–फ्रेन्ड्ली डस्टबिन र कुचो वितरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा १०० जना विद्यार्थी तथा कक्षाशिक्षकहरूको सहभागिता रहेको थियो। यसले विद्यालय सरसफाइमा सबै तहका विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
विद्यालयले प्राथमिक भवनअन्तर्गत रहेको १ वटा कर्मचारी कक्ष र १३ वटा कक्षाकोठालाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति (SMC), अभिभावक–शिक्षक संघ (PTA), विभिन्न तहका इन्चार्ज, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। यस अभियानले प्लास्टिकको प्रयोग र फोहोर घटाई वातावरणीय प्रदूषण न्यूनीकरण तथा स्वास्थ्य सुधारमा योगदान पुर्याउने विश्वास गरिएको छ।
त्यस्तै विद्यालयले ताजा पकाइएको खाना वर्षौंदेखि पुनः प्रयोग गर्न सकिने स्टिलका भाँडाकुँडामा मात्र वितरण गर्ने अभ्यासलाई निरन्तरता दिएको छ। यसले एकपटक प्रयोग गरिने प्लास्टिकजन्य सामग्रीको प्रयोग कम गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा नगरपालिका तथा अन्य संस्थाहरूद्वारा आयोजित कला तथा हस्तकला प्रदर्शनीको अवलोकन भ्रमण समेत सम्पन्न गरिएको थियो। प्रदर्शनीमार्फत विद्यार्थीहरूले स्थानीय रूपमा उपलब्ध जैविक तथा पुनः प्रयोग गर्न सकिने सामग्रीहरूको उपयोगबारे जानकारी प्राप्त गरेका थिए। साथै परम्परागत सीप, कला र संस्कृतिको संरक्षणमार्फत वातावरण जोगाउन सकिने सन्देश समेत प्राप्त गरेका थिए।
यसै क्रममा मेदिनी सेक्टरद्वारा घरमा उत्पादन हुने फोहोर वस्तुहरूको पुनः प्रयोग (Upcycling) सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमले फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गरी चक्रीय अर्थतन्त्र (Circular Economy) को अवधारणालाई व्यवहारमा उतार्न प्रेरणा दिएको थियो।
अन्त्यमा विद्यालयका विभिन्न सेक्टरहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सेक्टर–१ का ५० जना तथा मेदिनी सेक्टरका २५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नयाँ पुस्तालाई हरित वातावरण संरक्षणमा सक्रिय रूपमा सहभागी गराउनु रहेको विद्यालयले जनाएको छ।
विद्यालयले सञ्चालन गरेका यी कार्यक्रमहरूले विश्व वातावरण दिवसका उद्देश्यहरू प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि वातावरण संरक्षणसम्बन्धी यस्ता गतिविधिहरूलाई निरन्तरता दिइने इकाे क्लव संयाेजक शारदा पाण्डेले बताउनुभयाे ।













