चापाकोटमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, लागूऔषधदेखि साइबर अपराधसम्मका विषयमा छलफल
अस्विन पङेनी , चापाकोट-इलाका प्रहरी कार्यालय चापाकोटले नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा कारबाही, राहत तथा उद्धार कार्य तथा महामारीका समयमा प्रहरीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराउनुभयो। उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। त्यसैगरी, प्रहरी निरीक्षक प्रदीप लामाले समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै नागरिकका गुनासा र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँण (ईश्वर) ले नागरिकका समस्या समाधान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले जनताका हरेक सुख–दुःखमा नगरपालिका सदैव साथमा रहने उल्लेख गर्दै नागरिकले पनि समाज सुधारका अभियानमा सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। नगरपालिकाले प्रहरीलाई सहयोगस्वरूप सिटी हलको भाडा नलिएको जानकारीसमेत उहाँले दिनुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण, अभद्र व्यवहार, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, साइबर अपराध, गिट्टी–बालुवा चोरी निकासी तथा विकास निर्माणका कार्यमा देखिएका समस्याका विषयमा प्रश्न तथा सुझाव राखेका थिए। साथै राजस्व तिरी कानुनी रूपमा सञ्चालन हुने ट्र्याक्टर तथा टिप्परलाई निर्वाध रूपमा सञ्चालन गर्न सहजीकरण गर्नुपर्ने मागसमेत उठाइएको थियो। स्थानीयवासी मणि खनाल, मुकुन्द डोटेल, ढाकाराम डोटेल, राधादेवी भण्डारी, प्रकाश कँडेल र अमृत पौडेललगायतले प्रहरी सेवाको प्रभावकारिता, सिटी हल शुल्क तथा प्रहरी नेतृत्वका भावी योजनाबारे जिज्ञासा उठाउनुभएको थियो।
कार्यक्रममा उठेका प्रश्नहरूको सम्बन्धमा प्रहरी तथा नगरपालिकाका प्रतिनिधिहरूले जवाफ दिँदै शान्ति सुरक्षा, सुशासन र सामाजिक सद्भाव कायम गर्न नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको भनाइ व्यक्त गर्नुभएको थियो। नागरिक सुनुवाइ कार्यक्रमले स्थानीय तह, प्रहरी र समुदायबीचको सहकार्य तथा विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ रहेको छ।












