कपिलवस्तुमा सम्पन्न भयो ‘डिजी स्कुल कम्पिटिसन’ः विद्यार्थीहरूको प्राविधिक र सिर्जनात्मक क्षमताको प्रदर्शन
कपिलवस्तु । कपिलवस्तु क्षेत्रका डिजी स्कुल पाठ्यक्रम लागू भएका विद्यालयहरूबीच विभिन्न विधामा प्रतिस्पर्धात्मक डिजिटल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । गत ९ गते श्री अन्नपूर्ण विद्या मन्दिर, कोपवा, कपिलवस्तुको प्राङ्गणमा आयोजित यस प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो डिजिटल र सिर्जनात्मक सीप प्रदर्शन गरेका थिए ।
डिजी स्कुल लुम्बिनी प्रदेशका एकेडेमिक फेसिलिटेटर अनिश कँडेलको संयोजनमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा श्री अन्नपूर्ण विद्या मन्दिरका प्रबन्ध निर्देशक कपिल घिमिरे र सोही विद्यालयका प्रधानाध्यापक प्रकाश भुसाल लगायतको गरिमामय उपस्थिति रहेको थियो ।
संयोजक कंडेलका अनुसार विभिन्न ४ वटा विधामा विभाजन गरी गराइएको उक्त प्रतिस्पर्धामा कक्षा ४का विद्यार्थीहरुले ब्याटल अफ प्रेजेन्टेसनमा राइजिङ स्टार ई.बोर्डिङ्ग स्कूलका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिहरू हात पारेको छन् । प्रतियोगितामा राइजिङ स्टारकै रोहित भट्टले प्रथम स्थान, स्वीकृति सुनारले द्वितीय स्थान, आयुष पाण्डेले तृतीय स्थान, उत्सव योगीले चौथो स्थान र दृष्टि आचार्यले पाँचौँ स्थान प्राप्त गरेका छन् ।
यस्तै, कक्षा ५का विद्यार्थीहरुले कोल्याब आर्ट च्यालेन्ज अन्तरगत प्रतिस्प्रर्धा गरेका थिए । सामूहिक कला र सिर्जनात्मकता मापन गर्ने यस विधामा विभिन्न विद्यालयका विद्यार्थीहरूले स्थान सुरक्षित गरे । जसमा सनराइज ई.बोडिङ्ग स्कूलका श्रीकृष्ण न्यौपाने र रोजिना विष्टले प्रथम स्थान, हिलबर्ट ई. बोडिङ्ग स्कूलका पञ्चुराम थारु र निश्चल बी.के.ले द्वितीय स्थान र हिलबर्ट ई. बोडिङ्ग स्कूलकै सफाक कार्की र सार्थक के.सी.ले तृतीय स्थान हासिल गरेका छन् ।
कक्षा ६ का विद्यार्थीहरुले एनिमेसन र कोडिङको प्रारम्भिक सिकाईलाई केन्द्रित गरी गरिएको स्क्र्याच एनिमेसन च्यालेन्ज प्रतिस्पर्धामा हिलबर्ट ई. बोडिङ्ग स्कूलका विद्यार्थीहरूले क्लिन स्वीप गरे । प्रथम स्थानमा सुबिन पौडेल, द्वितीय स्थानमा समन पोखरेल र तृतीय स्थानमा आकृति गौतमले जित निकालेका छन् ।
यस्तै, तार्किक क्षमता र समस्या समाधानको सीप परीक्षण गरिने फ्लोचार्ट मास्टर च्यालेन्जमा कक्षा ७का विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरेका छन् । जसमा श्री अन्नपूर्ण विद्या मन्दिरका विद्यार्थीहरू विजयी भएका छन् । प्रथम स्थानमा धिरज कुर्मी, द्वितीय स्थानमा विजन पोखरेल र तृतीय स्थान सङ्गम पौडेलले हासिल गरेको आयोजक डिजि स्कूल, लुम्बिनी प्रदेशले जनाएको छ।
आधुनिक युगमा सूचना प्रविधि र डिजिटल साक्षरताको महत्वलाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै बालबालिकाहरूलाई प्रविधिमैत्री बनाउन यस्ता प्रतियोगिताहरूले ठूलो भूमिका खेल्ने विश्वास आयोजक र उपस्थित विद्यालयका प्रतिनिधिहरूले व्यक्त गरेका छन् ।














