असार १९ । अब कुनै उचित कारण बिना पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायी माथि सरकारले कडा कारबाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।
संशोधित नियम अनुसार जानाजानी इन्धनको आपूर्ति अवरुद्ध गर्ने वा पम्पमा ‘ड्राई नोजल’ राखेर अभाव देखाउने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना गरिनेछ । साथै गल्तीको प्रकृति अनुसार ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्न सकिने व्यवस्था गरिएको नेपाल आयल निगमले जनाएको छ ।
हालै इन्धनको मूल्य घट्ने अनुमानमा केही व्यवसायीले निगमका डिपोबाट पेट्रोलियम पदार्थ नउठाउँदा देशभरको आपूर्ति प्रणाली प्रभावित भएको थियो । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध गर्ने गतिविधि रोक्न तत्काल कदम चाल्न निर्देशन दिएकी थिइन् ।
उक्त निर्देशनपछि निगमको सञ्चालक समितिले विनियमावली संशोधन गरी पम्पमा इन्धन हुँदाहुँदै ‘नोजल ड्राई’ राख्न नपाइने स्पष्ट व्यवस्था गरेको हो ।
अब पहिलो पटक नियम उल्लंघन गर्ने व्यवसायीलाई ३ लाख रुपैयाँ जरिबाना र ५ दिन आपूर्ति रोक्का हुनेछ । दोस्रो पटक सोही गल्ती दोहोरिए ६ लाख रुपैयाँ जरिबाना र १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक उल्लंघन गरे १० लाख रुपैयाँ जरिबाना सहित १५ दिनसम्म इन्धन आपूर्ति पूर्ण रूपमा रोक्ने व्यवस्था गरिएको छ।













