चौथो चरणको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

अक्सफोर्ड माध्यमिक विद्यालयद्वारा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूका लागि आयोजित चौथो चरणको अभिभावक अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। किशोरावस्थामा रहेका विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन, मानसिक सुदृढता, नैतिक विकास तथा भविष्य निर्माणमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य श्री दिनेश भुसालले गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा उहाँले कक्षा ८, ९ र १० विद्यार्थीहरूको जीवनको अत्यन्त महत्वपूर्ण चरण भएकाले यस समयमा अभिभावकको समय, विश्वास, सही मार्गदर्शन र विद्यालयसँगको निरन्तर सहकार्यले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालय र अभिभावक एउटै लक्ष्यका सहयात्री भएकाले निरन्तर संवाद र सहकार्यबाट मात्र विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
प्रशिक्षक श्री प्रितम पौडेलले किशोर मनोविज्ञान, प्रभावकारी अभिभावकीय भूमिका, अध्ययनप्रतिको प्रेरणा, डिजिटल अनुशासन, बोर्ड परीक्षाको तयारी, समय व्यवस्थापन तथा सकारात्मक पारिवारिक वातावरणका विषयमा व्यवहारिक र प्रेरणादायी सहजीकरण गर्नुभयो। उहाँले अभिभावकले आफ्ना छोराछोरीसँग नियमित संवाद गर्ने, उनीहरूको भावना बुझ्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा घरमा सकारात्मक सिकाइ वातावरण निर्माण गर्नुपर्नेमा विशेष जोड दिनुभयो।
कार्यक्रममा सहभागी अभिभावकहरूले कार्यक्रम अत्यन्त उपयोगी, प्रेरणादायी तथा समयसापेक्ष रहेको प्रतिक्रिया व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ मजबुत बनाएको बताउनुभयो ।।
कार्यक्रमको समापन गर्दै प्राचार्य श्री दिनेश भुसालले सहभागी सम्पूर्ण अभिभावकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यालय र अभिभावकबीचको विश्वास, सहकार्य र निरन्तर संवाद नै प्रत्येक विद्यार्थीको सफल भविष्य निर्माणको आधार भएको उल्लेख गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालय–अभिभावक सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।