हिमलुङ हिमालमा थप ३ शव फेला, अझै ९ जना बेपत्ता

प्रकाशित मिति:

मनाङ । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका मध्ये बुधबार थप तीन जनाको शव फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव हिमलुङ बेसक्याम्पबाट फेला पारिएको हो । तीनै जनाको शव बुधबार दिउँसो करिब ४ बजे मनाङ सदरमुकाम चामे ल्याइएको थियो ।

शवलाई चामेस्थित प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । बिहीबार काठमाडौं स्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिएका छन् ।

मृतकमध्ये गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का २१ वर्षीय सुरज राई र रुकुम हुकामका ५७ वर्षीय कलम बुढा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार तीनै जना हिमालयन होलिडेजसँग आबद्ध थिए ।

बुधबार तीन जनाको शव फेला परेसँगै हिमलुङ हिमालको हिमपहिरोमा परी हालसम्म ७ जनाको शव फेला परेको छ । यसअघि सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राई तथा आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अझै ९ जना बेपत्ता छन् । बेपत्ता मध्ये हिमालयन होलिडेजका ७ जना र इम्याजिन नेपालका २ जना रहेका छन् ।

बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीएका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँचभन्दा बढी अनुभवी आरोहण गाइड उद्धार कार्यमा खटिएका छन् ।

प्रतिकूल हिमाली भूगोल र जोखिमका बीच पनि उद्धार टोलीले बेपत्ताको खोजी तथा शव निकाल्ने काम जारी राखेको छ । एनएनएमजीएका अनुसार सम्भव भएसम्मका सबै प्रयास जारी राखिनेछ ।

हिमलुङ हिमालमा हिमपहिरोपछि सुरु भएको खोज तथा उद्धार अभियानमा हालसम्म ७ जनाको शव फेला परेको छ भने ९ जना अझै बेपत्ता छन् । बेपत्ताको खोजीका लागि उद्धार टोली हिमलुङ क्षेत्रमा निरन्तर परिचालन भइरहेको छ ।