आजबाट श्रीस्वस्थानी व्रतकथा आरम्भ, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ माघ ७ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको ७ गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष शुक्लपक्षको पूर्णिमा तिथि विहान ११।३० बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । तिष्य नक्षत्र विहानका राति ४।२९ बजेसम्म रहनेछ । आज विष्कुम्भ योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३४ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा छन् ।

आजबा श्रीस्वस्थानी व्रतकथा आरम्भ भएको छ । एक महिनासम्म माघस्नान गरी श्रीस्वस्थानी माताको व्रत बसी कथा श्रवण गर्नाले अभीष्ट वर प्राप्त हुने धार्मिक मान्यता रहेको छ । श्रीस्वस्थानीको व्रतमा आद्या शक्ति भगवतीको उपासना गरिन्छ । आद्य शक्ति भगवतीको उपासना विधि मध्ये माघ स्नान पूर्वक गरिने आराधना पनि एक विशिष्ट पद्धति हो । श्रीस्वस्थानीको कथा सर्वोपयोगी र सर्वहितकारी रहेको छ ।
स्कन्ध पुराणको माघ माहात्म्य अन्तर्गत कुमार अगस्त्य संवादको कथा प्रसङ्ग नै कथाको आदि स्रोत हो । पार्वती पुत्र कुमार र अगस्त्य ऋर्षिको संवादमा उक्त कथा आधारित छ । यस कथामा आद्य शक्तिको विशेष महिमा गान गरिएको छ । चराचर जगत्का नियन्ता भगवान शिव र पार्वतीको कथा प्रसङ्ग नै श्रीस्वस्थानीको मूल आख्यान हो । महिनादिनसम्म विधिपूर्वक कथा श्रवण गर्नाले मनोकामना पूरा हुने कुरा श्रीस्वस्थानी व्रतकथामा समेत उल्लेख पाइन्छ । श्रीस्वस्थानी कथाको वेग्लै महŒव रहेको पाउन सकिन्छ । संसार के हो ? यो चराचर जगत्का नियन्ता को हुन् ? किन हामीले व्रत उपासना गर्नु पर्दछ ? व्रत उपासनाले के फल पाइन्छ ? यसको निन्दा गर्नाले कस्ता दुःख र कष्ट भोग्नृु पर्छ भन्ने कुराको ज्ञान विभिन्न कथामा व्यक्त गरिएको छ । विशेषतः चित्त शुद्ध गरि परमेश्वरप्रति भक्ति भाव व्यक्त गर्नाले यो लोकमा सुुख शान्ति प्राप्त हुनुका साथै परलोकमा पनि उत्तम गति प्राप्त हुन्छ भन्ने कुरा उक्त कथाको सार रहेको छ ।

श्रीस्वस्थानी व्रत कथाको श्रवणले यो चराचर जगत्को विशद ज्ञान हासिल गर्न सकिन्छ । ब्रह्म, ब्रह्माण्ड, भूगोल, द्विप, समुद्र आदिको बारेमा विस्तृत व्याख्या श्रीस्वस्थानी कथामा उल्लेख छ । सृिष्कर्ता पनि ईश्वर, पालन कर्ता पनि उनै महेश्वर अनि संहार कर्ता पनि उनै शङ्कर हुन् । भगवद् भक्ति विना संसारबाट पार पाउन सकिदैन भन्ने कुरा उक्त कथामा व्यक्त छ । यसैगरी यो ब्रह्माण्डको विषयमा पनि थुप्रै व्याख्या भएको छ । संसरको सृष्टि सम्वन्धी साङ्ख्य शास्त्रीय मत प्रस्तुत गरिएको छ । आद्य वस्तु प्रकृति र पुरुषको संयोगबाट संसारको सृष्टि भएको कुरा आजका भौतिकवादले पनि स्वीकारेको छ । सम्पूर्ण, भूर्भुव स्व,मह,जन,तप सत्य लोकको व्यवस्थाका साथै अतल,वितल, सुतल, तलातल,र सातल, महातल पातालकोको वर्णन कथाले विस्तृत रूपमागरेको छ ।

भूगोलको विशेष ज्ञान श्रीस्वस्थानी कथाबाट पनि प्राप्त गर्न सकिन्छ । यसैगरी काल अर्थात् समयको व्यवस्थिति,सत्य,त्रेता,द्वापर,कलि युगको प्रसङ्ग,ब्रह्माको आयु देवताको आयु अनि मनुष्यको आयुको बारेमा पनि विशेष ज्ञानवर्धक कुराहरू कथाका माध्यमले प्रस्तुत गरिएको श्रीस्वस्थानी व्रतकथाबाट थुप्रै ज्ञानराशि हासिल गर्न सकिन्छ ।

–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –