महासमितिपछि कांग्रेसको पहिलो बैठक : केके छ एजेण्डा ?

प्रकाशित मिति:

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ । महासमिति बैठकपछि पहिलो पटक बस्न लागेको बैठकमा पार्टीको आन्तरिक विषयसँगै राष्ट्रिय राजनीतिबारे पनि छलफल हुनेछ । कांग्रेसले पार्टीका दिवंगत नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई खारेज गर्न खोजेको भन्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले भने कांग्रेसका अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पास गर्न चाहेको छ ।

एक पदाधिकारीका अनुसार केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गर्ने सम्भावना बढी छ । उनले भनेका छन्, ‘सरकारलाई चिनिने मात्र होइन, देखिने प्रतिपक्षी चाहिएको जस्तो छ । अब हामी सरकारमाथि त्यही अनसार दबाव बढाउँछौं ।’ केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट परिर्माजनसहित पास भएका विधानलाई अन्तिम रुप दिनेछ । केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक तहमा एक पटक मात्र पाउने जिल्ला सभापतिहरुको मागबारे के निर्णय हुन्छ भन्ने धेरैैको चासो छ ।

महासमिति बैठकमा जिल्ला सभापतिहरुले विधान नै रोक्ने चेतावनी दिएपछि सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, केन्द्रीय समितिमा रहेका बहुसंख्यक नेताहरु जिल्ला सभापतिहरुको दुबै माग सम्बोधन गर्ने पक्षमा छैनन् । बैठकमा नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने नगर्नेबारे पनि छलफल हुनेछ ।

नैनसिंह महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गर्न दिएको २ महिनाको म्याद गुज्रिएको छ । वर्तमान कार्यसमिति भंग गरेको अर्को बनाउने कि फेरि म्याद थप्ने अन्यौल कायमै छ । नेताहरुका अनुसार सभापति देउवाले यसबारे प्रष्ट धारणा राखेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल अब म्याद नथप्ने पक्षमा छन् भने कृष्ण सिटौला कार्यसमिति भंग नगर्ने पक्षमा छन् । साथै फागुनमा स्ववियु चुनाव घोषणा भएकाले के गर्ने भन्ने अन्यौल देखिएको एक पदाधिकारीले बताए ।