कांग्रेसले भोलि पनि संसद चल्न नदिने, गच्छदार भन्छन्– हेरौला कसरी पारित हुन्छ विधेयक ?
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको शुक्रवारका लागि निर्धारित प्रतिनिधिसभा बैठक चल्न नदिने जनाएको छ । आफ्ना नेताका नाममा रहेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने गरी मन्त्रिपरिषद् बैठकले निर्णय नगर्दासम्म संसद बैठक चल्न नदिने कांग्रेसको अडान छ ।
बिहीवार कांग्रेस केन्द्रीय समितिको बैठक शुरू हुनुअघि पत्रकारसँग कुरा गर्दै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले शुक्रवार (भोलि) पनि संसदको बैठक चल्न नदिने बताएका हुन् । ‘हाम्रा माग पूरा नभएसम्म संसद बैठक चल्न दिँदैनौ,’ गच्छदारले भने, ‘संसद नचलि विधेयक कसरी पारित हुन्छ ?’ यसअघि सरकारले विधेयक पारित गर्न बल गरेपछि मंगलवार संसदमा घम्साघम्सी भएको थियो । सत्तारुढ नेकपाले शुक्रवार जसरी पनि विधेयक पारित गर्ने बताउँदै आएको छ ।
मंगलवार सूचना टासेर स्थगित भएको संसदको बैठक शुक्रवार बस्दैछ । नेताको नाम जोडिएका अस्पताको मुद्दा उठाएपनि कांग्रेसले डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसार विधेयक पारित गर्नुपर्ने अडान राख्दै विधेयक पारित गर्न नदिने बताएको छ ।












