विद्या मित्रं प्रवासेषु भार्या मित्रं गृहेषु च ।
व्याधितस्योषधं मित्रं धर्मो मित्रं मृतस्य च ।। –नीति वचन
प्रवासमा विद्या मित्र हुन्छ, घरमा पत्नी साथी हुन्छन्, रोग लागेको वेला औषधी मित्र हुन्छ भने मृत्युपश्चात् धर्म नै मित्र हुन्छ ।
मित्र भनेको हरेक अवस्थार र परिस्थितिमा साथ सहयोग गर्ने तत्त्व हो । मान्छेका देश, काल र परिस्थिति अनुसार मित्रहरू फरक फरक हुन्छन् । मित्रको सहयोग विना जीवनरथ अघि बढाउन गाह्रो हुन्छ । इहलोकका साथसाथै परलोकको यात्रा पनि असल मित्र विना असहज हुने गर्दछ । घरको असल साथी भनेको पतिका निम्ति पत्नी र पत्नीका निीम्त पति हुन् । गृह सञ्चालनमा पतिपत्नीको एक आपसमा सरसहयोग महत्त्वपूर्ण हुने गर्दछ । पतिले पत्नीलाई र पत्नीले पतिलाई सहमयोग गर्नुपर्दछ तबमात्र गृहरथ सहज रूपमा अघिबढ्न सक्दछ । यसैगरी रोग लागेका वेला औषधी नै मान्छेको मित्र हुन्छ । मित्र भनेको जीवनमा साथ, सहयोग र सुख शान्ति प्रदान गर्ने तत्त्व हो । जीवनपश्चात्को मित्र भनेको केवल धर्म मात्र हो । जो धर्म जीवनमा आर्जन गरिएको छ सोही भोग परलोकमा हुने गर्दछ । धर्म नै मृत्युपश्चात्को साहारा हुने भएकाले हामी सबै धर्म कर्ममा लाग्नुपर्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –












