दीपका विद्यार्थीहरुद्धारा कृषक लाई सम्मान

प्रकाशित मिति:

ईन्टर्याक्ट क्लब अफ दीप बोर्डिङ तथा रेड क्रस युथ सर्कल दीप बोर्डिङको आयोजनामा उत्पादित कृषि उपजको उचित बजारिकरणका लागि सचेतना अभियान स्वरुप कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न संचारमाध्यममा खैरनी नगरपालिका वडा न. ६ तुलसीपुर, चितवनका किसान पुरन महतोले बालीमा लगाएको बन्दागोपीले बजार नपाएपछि अर्को बाली लगाउन समस्या भएकाले डोजर लगाई बन्दा हटाएको समाचार प्रकाशन भएपछि विद्यालयका प्राचार्य टिकाराम न्यौपानेको पहलमा उक्त गोपी विद्यालय परिसरबाटै किसानको सम्मान स्वरुप विद्यार्थी र शिक्षकहरुले रु १५ रुपैयांमा खरिद गरी सम्मान व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै दीप बोर्डिङ व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र ध्वजुले विद्यार्थीहरुलाई कृषि प्रदान देश का नागरिकको पहिचान गराउन कार्यक्रमले सहयोग पुर्याएको बताउंदै कृषकको सम्मान राज्यले गर्न नसकेकोमा गुनासो गर्नुभयो ।

त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै कृषक महतोले सरकारले कृषिमा लगानी गर्ने र कृषकलाई राहत प्रदान गर्ने नारा मात्रै लाएर कृषकलाई झुटो आश्वासन दिएकामो दुःख व्यक्त गर्दै उत्पादित वस्तुले बजार नपाउंदा लाखौंको लगानी र मेहनत खेर गएको गुनासो गर्नुभयो । वहांले विद्यालयको यो कदम प्रति आफू खुशि भएको बताउंदै यस्तो शिक्षा दिने दीपलाई धन्यवाद ज्ञापन गर्नुभयो । करिब २६०० विद्यार्थी अध्ययनरत दीप बोर्डिङले सामाजिक उत्तरदायित्व निर्वाह गर्न सहयोग पुग्ने खालका कार्यक्रमहरु विद्यालयमा गर्दै आईरहेको छ । सम्मान कार्यक्रममा महतोलाई बन्दा विक्री वापत प्राप्त रकम हस्तानतरण गर्दै सम्मान गरिएको थियो भने वहांलाई साथ दिनुभएका ग्रामिण ताजा तरकारी तथा सहकारी खैरनी चितवनका अध्यक्ष पूर्ण भक्त जैसी भुषाललाई पनि विद्यालयले सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, पत्रकार लगायत अभिभावकको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो ।