आज माघ शुक्लपन्चमी अर्थात् श्रीपन्चमी–विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाईएको छ । आजको दिनलाई शुभकार्य गर्न साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिइन्छ । आजको दिन विभिन्न सरस्वती मन्दिरहरुमा बिहानैदेखि विद्यार्थीहरु विद्याकी देवी सरस्वतीको पूजा–प्रार्थना गरेर मनाएका थिए । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पूजा–आराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ । आजको दिन खासगरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कला–साधनाका उपादानहरु कापी–कलम, वाद्ययन्त्र, कुचीलगायत सामग्रीको श्रद्धापूर्वक पूजा गरि मनाएका हुन । देशभरका सरस्वती मन्दिरमा पूजा गर्न बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लागेको थियो । अक्षराम्भ गर्ने बालबालिकाहरुका लागि आजको दिन विशेष मानिन्छ । आजबाट शिशिर ऋतुको समाप्ति र बसन्त ऋृतुको शुरुआत हुने गर्दछ । यस्तै रुपन्देही जिल्लामा भएका नीजि तथा सामुदायीक विद्यालय समेत सरस्वती पुजा गरी नँया विद्यार्थी समेत भर्ना गरेका छन । बुटवल सुख्खानगरमा रहेको दीप बोडिङ हाई स्कूलमा आज आइतबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम गरिएको छ । वसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा अराधना गरी पर्व मनाइएको हो । यसका साथै स–साना बालबालिकाहरुलाई अक्षरारम्भ समेत गराइएको छ । कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिनुभयो ।उत्ता लुम्बिनी बोर्डिङ स्कुलमा बिद्याकी देवी सरस्वतीको पूजा आराधना एवम् साना बालबालिकाहरुको अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य कोशलराज बस्यालको अध्यक्षतामा सञ्चालित सोही कार्यक्रम बिहान सरस्वती पूजाबाट आरम्भ गरिएको थियो । यता बुटवलको तिनाउ बोडिङ,एम्स स्कुलमा पनि सरस्वती पूजा भएको छ । भने बिद्यार्थीहरुले पूजा आजा सहित सांस्कृतिक कार्यक्रम पनि गरेका छन् ।