बोनम्यारो प्रत्यारोपणबाट एड्सरोगीको सफल उपचार

प्रकाशित मिति:

काठमाडौं । एड्सलाई प्राणघातक रोग मानिँदै आएको छ र यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन । तर, हालै एक एड्स रोगीको स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरी पूर्णरुपमा स्वस्थ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुनै एड्सरोगीको सफल उपचार भएको यो दोस्रो घटना हो ।बेलायतका ती बिरामीको नाम खुलाइएको छैन । उनलाई झण्डै तीन वर्ष अगाडि एचआईभी संक्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एक दाताको बोन म्यारोको स्टेम सेल प्रत्यारोपण गरिएको थियो ।चिकित्सकका अनुसार १८ महिनादेखि ती बिरामीमा एचआईभी भाइरसको कुनै लक्षण देखिएको छैन । जबकि, उनले एन्टि–रेट्रोभाइरल औषधि सेवन बन्द गरिसकेका छन् ।

यद्यपि, उनी पूर्णरुपमा निको भएका हुन् वा होइनन् भन्ने स्वतन्त्र अन्वेषण हुन बाँकी छ । यसअगाडि अमेरिकाका टिमोथी ब्रोन नामक बिरामी यही प्रक्रियाबाट एड्समुक्त भएका थिए । ल्यूकेमियाबाट पनि पीडित उनलाई सन् २००७ मा बोन म्यारो प्रत्यारोपण गरिएको थियो । अहिलेका बिरामीमा चाहिँ सन् २०१२ देखि हजकिन्स लिम्फोमा नामक क्यान्सर देखिएको थियो । अहिले उनको क्यान्सर पनि निको हुने चरणमा छ ।

चिकित्सकका अनुसार बोनम्यारो प्रत्यारोपण प्रक्रिया खतरनाक र पीडादायी हुने गर्छ । यसलाई एड्सको नियमित उपचारमा प्रयोग गर्न सकिने सम्भावना नरहेको उनीहरु बताउँछन् । ‘तर आगामी दिनहरुमा एड्सको पूर्ण उपचार सम्भव हुने कुरामा हामी आशावादी बनेका छौं,’ माइक्रोबायोलोजिस्ट जेफ्री मिलुसले भने ।बेलायतको युनिभर्सिटी कलेज लन्डन, इम्पेरियल कलेज लन्डन, क्याम्ब्रिज र अक्सफर्ट विश्वविद्यालयका अनुसन्धानकर्ताहरु यो प्रक्रियामा संलग्न छन् ।