बुटवल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले औपचारिक मात्र नभई अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराइने बताएका छन् ।पहिलो चरणमा औपचारिक श्रम बजारमा काम गर्ने श्रमिकहरुको सूचीकरण हुने र अर्को चरणमा अनौपचारिक क्षेत्रमा श्रम गर्ने श्रमिकलाई समेटिने बताए । रुपन्देहीको नयाँ मिलमा आयोजित अन्तर्क्रियामा मन्त्री विष्टले सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे ।औद्योगिक क्षेत्रमा मात्र होइन, स्कुल, कलेज, अस्पताल सबै क्षेत्रमा सामाजिक सुरक्षा लागु हुन्छ’ मन्त्री विष्टले भने ‘घरमा भात पकाउने एकजना भान्से र खेत जोत्ने हलीलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा समेट्छौं ।’
सबै श्रमिकलाई सामाजिक सुरक्षामा समेट्ने गरी नयां निर्देशिका ल्याउन लागेको जानकारी दिंदै मन्त्री विष्टले उद्योगी व्यवसायीका समस्या सरकारले सम्बोधन गर्ने तर सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा कुनै सम्झौता नहुने प्रष्ट पारे ।‘उद्योगी, व्यावसायीका गुनासा, माग सम्बोधन गर्न सरकार तयार छ, कानुन परिमार्जन र कार्यविधि सच्याउन पनि तयार छ’ उनले भने ‘सरकारले कार्यक्रम ल्याएको कार्यान्वयनका लागि हो, पाँच सात महिना समय लाग्नसक्छ तर कार्यक्रम लागू गर्ने कुरामा कुनै सम्झौता हुन सक्दैन ।’
उद्योगी व्यवसायीका अप्ठ्याराहरुलाई आउँदो वजेटमार्फत सम्बोधन गरिने उनले आश्वासन दिए । हालसम्म २२ सय मात्रै रोजगारदाता सूचीकृत भएको जानकारी दिंदै मन्त्री विष्टलढिला गर्दा रोजगारदातालाई नै नोक्सान हुने उल्लेख गरे ।श्रमिकहरुको सामाजिक सुरक्षाले रोजगारदाताको लगानी र व्यवसायको सुरक्षा हुने र उत्पादकत्व बढ्ने हुँदा उदार बन्न मन्त्री विष्टले उद्योगीहरुसंग आग्रह गरे । श्रमिक र आम नागरिकको जीवनस्तर माथि नउठेसम्म उद्योगी व्यवसायी मात्रै धनी भएर देश समृद्ध बन्न नसक्ने मन्त्री विष्टले बताए ।उद्योगी व्यवसायीहरुले भने सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा थुप्रै जटिलता रहेका बताएका थिए ।












