रुपन्देही/पर्यटनसँग सम्बन्धित विभिन्न कामहरु गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मंगलापुर बजारमा मेट्रो लिंक ट्राभल एण्ड टुर्स प्रालि सञ्चालनमा आएको छ । तिलोत्तमा र वरपरका ८ युवाहरुले १५ लाख रुपैयाँ लगानीमा यो पर्यटन ब्यबसाय सुरु गरेको सञ्चालक ओमप्रसाद गैरेले बताए । कम्पनीमा गैरेसहित लेखनाथ भण्डारी, धिरज पुन मगर, जंगबहादुर थापा, शंकर गौतम, बसन्त बिडारी, निर्मल जिशी, अमृत श्रेष्ठ, निरञ्जन नेपाल, दीपकप्रसाद विश्वकर्मा आबद्ध छन् ।मेट्रो लिंकले स्वदेशी तथा बाह्य उडानका हवाई टिकट, भारतका विभिन्न स्थानमा जान रेल टिकट, काठमाण्डौ, पोखरा, चितवन, मुस्तांग, लुम्बिनी लगायतका स्थानमा जाने एसीबस, हायस जिपहरु भाडामा उपलब्ध गराउने सञ्चालक निरञ्जन नेपालले जनाए ।
संस्थाले नेपालकै विभिन्न स्थान साथै लुम्बिनीसहित अन्य विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरुमा देशदर्शन कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ । ट्राभल कार्यालयको शुभारम्भ गर्दै तिलोत्तमा वडा नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपानेले मंगलापुर क्षेत्रमा पर्यटन संम्बन्धि काम गर्ने स्तरीय संस्था नभएकामा अहिले खुलेको संस्थाबाट गुणस्तरीय सेवा प्रबाह हुने अपेक्षा व्यक्त गरे । उनले मंगलापुर क्षेत्र र वरपरको विकासमा आफू सदैब लाग्ने भन्दै १७ करोड रुपैयाँ केन्द्रिय बजेट यो वडाका लागि ल्याउन सफल भएको बताए ।
सो अवसरमा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष माधब भण्डारीले पर्यटन गतिबिधि गर्ने संस्थासँग आफूहरु सहकार्य गरी अघि बढ्न तयार रहेको बताए । सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारुमगरले आफ्नो संस्था मिलेर काम गर्न तयार रहेको र पर्यटन गतिविधिका लागि आफूहरुसँग अपांगमैत्री स्तरीय एसी बस रहेको बताए । उनले भैरहवा–काठमाण्डौ एसी बसको टिकट बिक्रीको जिम्मा मेट्रोलाई दिने बताए ।कार्यक्रममा उद्योग ब्यापार संगठन तिलोत्तमका पूर्व अध्यक्ष दीपक गैरे, स्थानीयबासी सुशील घिमिरे, अच्युत श्रेष्ठ, संचारकर्मी मनोरञ्जन शर्मा लगायतले ट्राभल एजेन्सी र पर्यटन ब्यबसायका बिषयमा चर्चा गरेका थिए । मंगलापुर क्षेत्रमा ट्राभल एजेन्सी नुहँदा हवाई टिकट खरिद, तथा अन्य पर्यटन गतिविधि र कार्यक्रमका बारेमा जानकारी लिन भैरहवा तथा बुटवल जानु पर्ने बाध्यता थियो । अब भने यहीबाट सबै काम हुने भएकाले स्थानीयले थप सेवा सुबिधा पाउने भएका छन् ।












