सीके राउतले नयां पार्टी खोले

डा सीके राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको छ

प्रकाशित मिति:

काठमाडौं । डा सीके राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको छ । उक्त पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति गठन भएको प्रेस विज्ञप्ति मार्फत राउतले जनाएका छन् । स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं ७ मा चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक केन्द्रीय भेला विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा सो निर्णय गरिएको हो । स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा भएको ११ बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ। परिषद्ले पार्टीको नाम “जनमत पार्टी राख्ने झण्डामा क्रमश रातो सेतो र हरियो रंगको ठाड़ो धर्का ९स्ट्रीप० बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।

केन्द्रिय भेलाले पार्टीको लागि ३५सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ । निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गर्ने बताइएको छ । केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राउतलाई दिएको छ।३५ सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा। सिके राउत राष्ट्रिय अध्यक्ष रहेका छन् । केन्द्रिय सदस्यहरुमा कैलाश महतो महोत्तरी, राज कुमार यादव सिरहा अब्दुल खान बर्दिया चन्दन सिंह महोत्तरी बबिता ईसर सप्तरी कौशिला महतो झापा परमेश्वर मुर्मु मोरंग सीताराम पंडित सुन्सरी सुरेन्द्र शर्मा सप्तरी सतिला यादव सिरहा इन्द्रजीत यादव धनुषा रहेका छन् । साथै केन्द्रिय सदस्यहरुमा संजय यादव महोत्तरी नरेश कुशवाहा सर्लाही वीरेन्द्र साह रौतहट दिनेश यादव बारा संजय साह पर्सा, ध्रुव गौड नवलपरासी, भोपेन्द्र यादव रुपन्देही, हकिकुल्ला खान कपिलवस्तु, राधा यादव दाङ, इरफान अहमद शेष बाँके, महेन्द्र प्रसाद चौधरी कैलाली, दुर्गा चौहान नवलपरासी र आशा मेहता सुन्सरी रहेका छन्।

बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी राउतलाई दिएको छ। स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५र११र२४ गते भएको ११बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ। त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिएको छ। जनमत पार्टी को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको बताइएको छ ।