राजनितिक हस्तक्षेप विरुद्ध अभिभावक

प्रकाशित मिति:

महाराजगंज \ कपिलवस्तुको महारजगंज नगरपालिका वडा नं ३ मा रहेको पियुषराज निमावीका अभिभावकले राजनितिक हस्तक्षेपमा गरिएको व्यवस्थापन समिति गठन प्रक्रियाको विरोध गरेका छन् । केहि राजनितिक व्यक्ति र गैर अभिभावकको भेला गराई सर्वसम्मतको नाममा गरिएको समिति गठन गैरकानूनी भएको भन्दै विरोध गरेका हुन् । विद्यालयमा रहेका ५२ प्रतिशत अभिभावकले आइतबार संयुक्त हस्ताक्षर गरि विद्यालयमा सर्वसम्मतको नाममा जथाभावी व्यक्तिलाई विद्यालयको व्यवस्थापकीय जिम्मेवारी दिन नसक्ने भन्दै विरोध जनाएका छन् । यस संगै केहि दिन अभि सर्वसम्मत रुपमा गरिएको भनिएको व्यवस्थापन समिति गठन प्रक्रिया विवादित बन्न पुगेको छ । राजनितिक सहमतिको नामा जुनसुकै व्यक्तिलाई विद्यालयको जिम्मा दिन नसक्ने भन्दै विद्यालयलाई राजनिति गर्ने थलो नबनाउने अभिभावकहरुले प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका जनप्रतिनिधिहरुको दबाबमा निर्वाचन प्रक्रिया वा बहुमतिय प्रक्रिया भन्दा पनि कोठे राजनितिक सहमतिमा व्यवस्थापन समिति गठन भएको श्रोतको दाबी छ ।

फागुन ३० गते विद्यालय प्रशासन र राजनितिक दलका साथै जनप्रतिनिधिले सर्वसम्मतको नाममा समिति गठन गरेको अभिभावक रामलखन यादवको आरोप छ । विद्यालयमा ६५ जना अभिभावकहरुले हस्ताक्षर गरी निवेदन दिएको विद्यालयका प्रधानाध्यापक अयोध्या प्रसाद वरइले बताउनुभयो । “अभिभावले मान्दैनौ भनि निवेदन दिएका छन् , बहुमत अभिभावकले निवेदन दिए पछि मैले पनि मान्नु प¥यो” प्र।अ। वरइले भन्नुभयो । विद्यालयमा कुल अभिभावक संख्या ११० जना रहेको विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष विजय जैयसवालले बताउनुभयो । ११० जना मध्ये ६५ जनाले सर्वसहमतीबाट आएका पदाधीकारीलाई मान्दैनो भनेका छन् उहाले भन्नुभयो । “भेलामा गैर अभिभावकको पनि उपस्थिती गराई सर्व सम्मतीबाट पदाधीकारी चयन भन्ने भ्रामक प्रचार गरियो” अभिभावक राम लखन यादवले भन्नुभयो । अभिभावकहरुले सर्वसम्मतका नाममा गरिएको समिति खारेज गरि प्रक्रिया अनुसार समिति गठन गर्न र नगरे विद्यालय विरुद्ध प्रशासन र अदालत जाने समेत चेतावनी दिएका छन् । विद्यालय व्यवस्थापन समिति गठनमा विवाद आए पछि र अभिभावकहरुको निवेदन परेपछी नयाँ पदाधीकारीलाई बैठक बस्न नदिएको प्र अ वरइले जानकारी दिनुभयो ।

विद्यालयका प्रअले पनि ३० गते भएको अभिभावक भेलामा गैर अभिभावकहरुको उपस्थिती रजिष्टरमा भएको स्वीकार गरेका छन् । सर्वसम्मत गर्ने भनेपछि आफुले पनि सामान्य रुपमा लिएको तर अहिले विवाद भएपछि समस्या आएको बताउनुभयो ।  विद्यालय रहेको वडाका अध्यक्ष नैनदास मुराउले भने अभिभावकहरुको भेला सर्वसम्मतीबाट समिति सदस्यहरु चयन भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षा ऐन २०३८ तथा शिक्षा नियमावली २०५९को आठौं संसोधन अनुसार अभिभावकहरु मध्येबाट २ महिला सहित ४ जना सदस्यहरु छनौट हुनु पर्ने र सोही छनौट भएका ४ जनाले २ जनालाई मनोनित गर्नु पर्ने प्रावधान रहेको छ । सर्वसम्मत रुपमा समिति छनौट गर्न सकिने तर बहुसख्यक अभिभावकले विरोध जनाए प्रक्रियामा गई समिति गठन गर्नुपर्ने शिक्षा समन्वय ईकाई कपिलवस्तुले जनाएको छ ।