उद्घाटन भयो मेडिकल कलेज आयोजना कार्यालय ,सरकारले विकासको लहर ल्याएपछि प्रतिपक्षीहरु डराए : प्रधानमन्त्री

प्रकाशित मिति:

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले चौतर्फीरुपमा विकासको लहर ल्याउन थालेपछि प्रतिपक्षीहरु डराएको दावी गरे । उनले सरकारले विकासलाई तीब्रता दिन थालेपछि कसैका सटर (राजनीतिक) बन्द होलान् भन्ने पीर परेको उल्लेख गरे । उनले नेपाल मगन्ते देश नभएको पनि बताए । कतिपयले नेपालमा विदेशी सहयोग आउंदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको सन्तान र मगन्ते देश नभएकाले आफ्नै देशका प्राकृतिक सम्पदाहरु सदुपयोग गरेरै समृद्ध मुलुक बनाइने बताए । रुपन्देहीको तिलोत्तमामा बुटवल मेडिकल कलेज पुर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै उनले देशमा खनिज,पेट्रोल,फलाम,सुन जस्ता खानी रहेकाले नेपाल आफैमा सम्पन्न राष्ट्र भएको तर्क गरे ।

उनले मुलुकमा एकता र शान्ति चाहिएकोमा जोड दिंदै पछौटेपन र अंध्यारोबाट विकास र उज्यालोतिरको यात्रा अघि बढिसकेको बताए । उनले विज्ञानले ठूलो करामत गरिसकेको भन्दै त्यही करामतले आफू अहिले प्रधानमन्त्री बनेको बताए । सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उनले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए । रुपन्देही २ का प्रतिनिधिसभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेका बेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेकोमा बल्ल काम अघि बढेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेडिकल कलेजका लागि २ सय बिघा (२६ सय रोपनी) जमिनको प्रबन्ध भइसकेका बताउंदै स्थानीय सरकारले भरपूर सहयोग गर्ने बताए । तिलोत्तमा नगरपालिका वडा नंं १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने छ ।