४५ दिनसम्म पब्जी खेलेपछि युवकको मृत्यु

प्रकाशित मिति:

एजेन्सी -पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको छ । छिमेकी मुलुक भारतका केही सहरमा त यो गेमलाई प्रतिबन्धित गरिएको छ भने गुजराँतमा यो गेम खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको छ । भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएको घटना पनि सार्वजनिक भएको छ । भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो ।गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित   एक अस्पतालमा लगियो । उपचारकै क्रममा त्यहाँ उनको मृत्यु भयो ।

निकै लामो समयसम्म लगातार मोबाइलमा पब्जी गेम खेल्नाले ती युवकको गर्धन तथा घाँटीका मांशपेशीमा गम्भीर क्षति पुगेको थियो । जसका कारण उनले ज्यान गुमाउनु पर्‍यो । यद्यपि विज्ञहरुले चाहीँ केवल मोबाइल गेमका कारण मांशपेशीमा समस्या उत्पन्न हुँदा ज्यानै गएको भन्न नसकिने र उनमा अरु नै स्वास्थ्य समस्या पनि रहेको हुनसक्ने बताएका छन् । उनको उपचार गरेका एकजना डाक्टरले चाहीँ ती युवकमा संक्रमण समेत देखिएको र सोही संक्रमणका कारण ज्यान गएको बताएका छन् । भारतको नयाँदिल्लीमै पब्जी गेमको लतमा फसेका एकजना १५ वर्षका किशोर घर छाडेर बेपत्ता भए । पब्जी गेमले आफ्नो छोराको ब्रेनवास गरेका कारण बहुलाएर हिँडेको आरोपमा उनका बुवाआमाले लगाउँदै पुलिसमा उजुरी गरेका छन् । पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् । यो अनलाइन गेम निर्माता पब्जी कर्पोरेसनले पनि भारतमा भैरहेको आलोचनालाई मध्यनजर गर्दै एक दिनमा एकजना व्यक्तिले ६ घण्टाभन्दा बढी समय पब्जी खेल्न नपाउने गरी बन्देज लगाएको छ । अर्थात् गेमप्ले टाइममा ६ घण्टाको सीमा तय गरेको छ । यो बन्देज केवल भारतमा मात्र लागू गरिएको हो र विश्वका अरु देशमा चाहीँ जो जति समयसम्म पनि पब्जी खेल्न पाउँदछ ।