काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम आइबतारबाट सुरु हुने भएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो । यसका लागि विमानस्थल दैनिक १० घण्टा बन्द हुनेछ ।
झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा चैत १७ बाट पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न अन्तिम तयारी भईरहेको छ ।चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन वेको स्तरोन्नति काम सुरु गर्दैछ ।नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकिने अनुमान छ ।












