सरकारले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई दुख दियो: ‘विप्लव’

प्रकाशित मिति:
१५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्ना पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई दुख दिएको भन्दै विरोध जनाएका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी उनले अहिलेको सरकारले नेता कार्यकर्तालाई निरन्तर धरपकड गर्ने, वेपत्ता पार्ने, झुट्टा मुद्दा लगाउने, घरघरमा पुर्जी टाँस्ने गरेको भन्दै विरोध जनाएको हो ।आफ्नो पार्टीका पोलिट्ब्युरो सदस्यहरु पदम राई र ओम पुनसहित दर्जनौं नेता कार्यकर्तालाई झुटा मुद्दामा जेलमा राखिएको पनि विप्लवले उल्लेख गरेका छन् ।

साउन १० गते विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्यहरु कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई नागढुङ्गाबाट पक्राउ गरी तीन दिन वेपत्ता पारेको पनि विप्लवले उल्लेख गरेका छन् ।विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा सेललाई आफैले परिचालन गर्ने गरी तयार पारेको केन्द्रीय जाँच व्युरोमार्फत राजनीतिक प्रतिशोध साध्ने र सरकारको विरोध गर्नेलाई ठीक पार्ने कोशिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सरकारले संविधान विपरीत र विगतको सशस्त्र द्वन्द्वमा जस्तै आफ्ना नेता कार्यकर्तालाई दुख दिन थालेको पनि जनाएका छन् ।पक्राउ परेका आफ्ना पार्टीका नेता/कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गर्दै विप्लवले अन्यथा पार्टी सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् ।