बिराटनगर – प्रधानमन्त्री केपी ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्मेलनमा एसियाली विकास बैँक, विश्व बैँकदेखि संसारका विभिन्न देशका प्रतिनिधिको उल्लेखनीय सहभागिताले पनि नेपालमा लगानी भित्रिनेमा सरकार विश्वस्त रहेको बताए । उनले गत वर्षलाई सरकारले आधार वर्ष मानेर काम गरेको र यस वर्ष तीव्र विकास गर्ने बताए । ओलीले आधार वर्षमा संरचना र कानुन निर्माणमा समय खर्च गर्दा पनि नेपालमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुनु उपलब्धि भएको बताए । उनले अब विकास तीव्र गतिमा हुनेमा ढुक्क रहन सबैमा आग्रह पनि गरे ।
प्रधानमन्त्री ओलीले दर्ता नभएका समूहलाई राजनीतिक दल भन्न नमिल्ने बताउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको समूहले गरिरहेका अराजक गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे । अदालत र सरकार अलग-अलग विषय भएकाले सञ्चारकर्मीलाई सोहीअनुसार बुझ्न आग्रह गर्दै उनले सञ्चारकर्मीले सरकार र अदालतबीच झगडा लगाउने समाचार सम्प्रेषण गर्न नहुने बताए – रासस












