विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको छैन्ः प्रधानमन्त्री

प्रकाशित मिति:

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै राजनीतिक पार्टीलाई प्रतिबन्ध नलगाएको दाबी गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्धका विषयमा आइतबार विराटनगर विमानस्थलमा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन् । ‘विप्लव नेतृत्वको समूह कतै दर्ता भएको छैन्’, ओलीले भने, ‘संवैधानिक पार्टी नभएकाले उसका अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो ।’ उनले विप्लवमाथिको प्रतिबन्धलाई पार्टीमाथिको प्रतिबन्धका रुपमा नलिन सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले संवैधानिक निकायको नियुिक्तमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भागबन्डा खोजेको भन्दै अब त्यो नमिल्ने बताएका छन् । प्रदेश १ मा आयोजित विभिन्न कार्यक्रममा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले मुलुकमा अब कुनैपनि कार्यमा भागबन्डा नहुने प्रष्ट पारेका हुन् ।‘औचित्य र गुण, दोषका आधारमा कसैलाई कुनै निकायको जिम्मेवारी दिन सकिन्छ,’ उनले भने, ‘तर, अब भागबन्डा हुँदैन ।’

मुलुक विकासको सकारात्मक बाटोमा अघि बढेको उनको दाबी छ । ‘मुलुक सकारात्मक गतिका साथ विकासको बाटोमा अघि बढिसकेको छ,’ उनले भने, ‘गएको वर्षलाई सरकारले आधार वर्ष मानेको र आधार वर्षमासमेत ८ प्रतिशतको वृद्धि हुनु सकारात्मक हो ।’ चैतभित्र कानुन निर्माणको काम सकिने र त्यसपछि राज्यको सम्पूर्ण शक्ति विकासमा लगाउने उनको भनाइ छ । सरकारले गरेको लगानी सम्मेलन सफल भएको उनले दाबी गरेका छन् ।