दोस्रो सैनामैना मेयर कपको उपाधि फर्साटिकर एफसिलाई

प्रकाशित मिति:

रुपन्देही-रुपन्देहीको सैनामैना ७ देउवापारमा जारी दोस्रो सैनामैना मेयर कप नकाउट फुटबल प्रतियोगिताको उपाधि फर्सा्टिकर एफसीले हात पारेको छ ।उपाधि सँगै फर्साटिकरले नगद १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

फर्सा्टिकर एफसी र चाँदनी युवा क्लब दानापुर बिच आज भएको फाईनल प्रतिस्पर्धामा फर्साटिकरले १ शुन्य गोल अन्तरले उपाधि हात पारेको हो । चाँदनी युवा क्लब दानापुरले उपविजेतामा चित्त बुझाउँदै नगद ८८ हजार ८ सय ८८ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । खेलमा पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।दोस्रो हाफमा १ गोल गर्दै फर्साटिकरले उपाधि कब्जा गर्न सफल भएको हो । दोस्रो हाफमा दानापुरले गोल फर्काउन निकै प्रयासरत रहे तापनि त्यो सफल हुन सकेन ।

जनप्रिय स्पोटिङ युवा क्लब सैनामैनाको आयोजनामा सरस्वती माविको खेल मैदानमा भएको प्रतियोगिताको आज एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । उक्त प्रतियोगिताका विजेता खेलाडीलाई क्लवका अध्यक्ष किशोर राना, सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की,नगर उपप्रमुख बिना राना,जिल्ला खेलकुद विकाश समिती रुपन्देहीका अध्यक्ष योग बहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । समापन कार्यक्रमको संचालन क्लवका सचिव रोमनाथ न्यौपानेले गर्नुभएको थियो ।ग्रामीण स्तरमा फुटबल खेलको प्रवर्द्धन र नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले गत वर्षदेखी सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ ।