झापा – झापाको मेची पुलमा भारतीय पक्षले बनाएको सीमा स्तम्भ नेपालीले हटाएका छन् । भारतीयहरुले मेची खोलामा बन्दै गरेको नयाँ पुलको नाम लिएर सीमा स्तम्भ उखालेर नेपालतिर सारिदिएको पाइएपछि नेपाली युवाहरुले बिहीबार सीमा स्तम्भ उखालेर फालेका हुन् ।
यति ठूलो घटना भइरहँदा सीमा सुरक्षाका लागि खटिएको नेपाली टोली अनभिज्ञ छ । काँकडभिट्टाका स्थानीय तथा पत्रकारहरूले भारतले बनाएको स्तम्भ स्थल राखेकोबारे थाहा पाएका थिए । त्यसपश्चात युवाहरूले सशस्त्र प्रहरी बल काँकडभिट्टाका डिएसपी राजेश घिमिरे र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापालाई स्तम्भबारे जानकारी लिँदा आफूहरूलाईसमेत जानकारी नभएको बताएका थिए । पुरानो स्तम्भभन्दा २० मिटर वर सारेर नेपालको भू–भागमा स्तम्भ सारेको फेला परेको हो ।












