काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत आज देशैभर शक्ति प्रदर्शन गर्दै छ । राप्रपाले केन्द्रमा सिंहदरबारदेखि प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि शक्ति प्रदर्शनसहित धर्ना दिने भएको हो । हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि भन्दै राप्रपाले हाल पहिलो चरणको जनसंघर्षको कार्यक्रम सञ्चालन गरिरहेको छ । राप्रपाले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने, राजासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नु पर्ने, संघियताबारे राष्ट्रिय जनमत संग्रह गर्नु पर्ने, बेरोजगारी समस्या र बढ्दो महंगी तथा भ्रष्टाचार अन्त्य गर्नु पर्ने मागसहित संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
केन्द्रको प्रशासनिक निकायमा हुने धर्नाको नेतृत्व अध्यक्ष कमल थापा आफैले गर्दै छन् । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार दिउँसो १ बजेपछि राजधानीको प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा धर्ना सुरु हुने छ । राप्रपाले ८ वैशाखसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम तय गरेको हो । जसअन्तर्गत राप्रपाले संघर्षको कार्यक्रममको मुख्य एजेण्डा बनाइएको हिन्दु धर्म पुनस्र्थापनाको मागलाई लिएर देशैभरी हस्ताक्षर संकलन अभियान समेत जारी राखेको छ ।
प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार आइतबार साँझसम्म देशभरबाट गरी करिब ६० लाखको हाराहारीमा हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा हस्ताक्षर संकलन भएको छ । राप्रपाले १७ चैतबाट देशैभर हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो ।












