कालिका भगवतीमा श्रद्धालुको घुइँचो

प्रकाशित मिति:

बागलुङ- चैतेदशैंको आवसरमा कालिका भगवती मन्दिर बागलुङमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरमा पूजापाठ गर्ने र मेला अवलकोन गर्नेको घुइँचो लागेको हो । सो मन्दिरमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले विभिन्न पशुपक्षीको बलि दिने चलन पनि छ ।

मन्दिरमा हजारौंको संख्यामा श्रद्धालु भक्तजनको भीड लागेपछि भक्तजनलाई कडा सुरक्षाका बीच लाइनमा राखेर पूजाआजा गर्ने व्यवस्था गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

मन्दिरमा नेपालका विभिन्न स्थानलगायत भारतबाट दर्शनार्थी आएका छन् । चैतेदशैंको आज मुख्य दिन भएका कारण हजारौंको संख्यामा श्रद्धालु भक्तजन मन्दिर दर्शनका लागि आएका हुन् । प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशैं मेलाले ठूलो सहयोग पुर्‍याउने पर्यटन व्यवसायी बताउँछन् ।