काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।
गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्न लागेको हो । अघिल्ला राष्ट्रपति डा। रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन् । बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ ।अर्को छिमेकी भारतले नेपालमा गणतन्त्र आएलगत्तै चुनिएका राष्ट्रपतिलाई नयाँदिल्लीमा राजकीय सम्मान गरेको थियो । तर चीनले त्यही सम्मानका लागि झन्डै १० वर्ष लगाएको हो । चीनको उक्त स्वागतले नेपाल–चीन सम्बन्ध उचाइमा पुग्ने विश्वास सरकारले लिएको छ ।
राष्ट्रपति भण्डारी बुधबार बिहान नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट चीनतर्फ जानेछिन् । उनी एक दिन सान्सी प्रान्तमा बस्नेछिन् । त्यो राष्ट्रपति सी चिनफिङको सहर हो । भण्डारी भोलिपल्ट बेइजिङ पुग्ने कार्यक्रम छ ।राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन् । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिनेछ ।नेपालले बीआरआई परियोजनाअन्तर्गत आफ्नो योजना पहिले नै बुझाइसकेको छ । तर अन्तिम रूप पाएको छैन । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीका अनुसार सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् ।एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन् । युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन् । सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनका महाप्रबन्धक पनि सहभागी हुनेछन् । यस्तै जर्मनी, फ्रान्स, स्पेन, बेलायत, जापान, दक्षिण कोरिया र ईयूबाट पनि उच्चस्तरीय प्रतिनिधि सहभागी हुनेछन् ।सम्मेलन सकिएको भोलिपल्ट आगामी आइतबार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच दुईपक्षीय भेटवार्ताको कार्यक्रम छ । दुई नेताबीच बीआरआई अभियानमा सहभागिता जनाएपछि दुई मुलुकबीच बढेको गतिविधि र पहिले भएका सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ । यस्तै चिनियाँ उच्च नेतृत्वलाई नेपाल भ्रमणको प्राथमिकतामा राखेर कुराकानी हुनेछ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति भण्डारीको भ्रमणपछि नेपाल–चीन द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने बताए । दुई देशका राष्ट्रपतिबीच चीनको विकाससँग नेपालको विकासलाई जोड्ने उपाय खोजी हुने उनले स्पष्ट पारे । दुई देशबीच पारवहन तथा परिवहनसम्बन्धी सम्झौता र हवाई रुट एवं स्लटसम्बन्धी सहमतिमा सम्झौता हुने मन्त्री ज्ञवालीले बताए । ज्ञवाली पनि राष्ट्रपतिसँग सवारीमन्त्रीका रूपमा चीन जानेछन् ।