काठमाडौँ –वैशाखलाई विवाहको लागि लगनको महिना भनेर चिनिन्छ। यस महिनामा धेरैले वैवाहिक सम्बन्ध गाँसीसकेका छन् भने कोही गाँस्ने तरखरमा होलान् ।विशेष गरि हिन्दु समाजमा विवाहको लागि कुरा चलाउँदा थर पहिले सोध्ने चलन छ।
त्यो सोधखोज थरको लागि भन्दा पनि गोत्रको लागि गरिएको हो। किनकी हिन्दु धर्ममा सगोत्री विवाह वा एउटै गोत्रमा विवाह गर्न मनाही छ । उही गोत्र भएकाहरु एक परिवारका सन्तान जस्तै मानिन्छन् । विशेष गरि यो चलन ब्राह्मण र क्षेत्री जातीमा रहेको छ ।हिन्दु धर्मको मान्यता अनुसार, एउटै गोत्रमा विवाह गर्दा, दुई पक्ष मध्ये एक पक्षको परिवारमा अप्रिय घटना घट्न सक्ने, वैवाहिक सम्बन्ध नराम्रो हुने सम्भावना हुने, बच्चा नजन्मिने वा जन्मिएपनि उसमा केही कमी हुने बताइन्छ । त्यसैले हिन्दु धर्म मान्ने परिवारले एउटै गोत्रमा विवाह गर्न मान्दैन। यही कारण कतिपय प्रेम सम्बन्धहरु टुटेका पनि छन्।
सगोत्री विवाह मनाही गरिनुको कारण धार्मिक मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण रहेको समेत मानिन्छ । विभिन्न अनुसन्धान अनुसार, एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ ।












