अमेरिकी सहयोगमा विद्यालय निर्माण

प्रकाशित मिति:

काभ्रे – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलबार तीन नयाँ प्राथमिक विद्यालय काभ्रेपलाञ्चोकका बासिन्दालाई हस्तान्तरण गरेका छन्। यी विद्यालय अमेरिकी जनताको सहयोगमा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) मार्फत निर्माण भएका थिए। उक्त समारोहमा राजदूत बेरीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलका साथै स्थानीय समुदाय पनि उपस्थित थिए। विद्यालय हस्तान्तरण समारोहमा राजदूत बेरीले अमेरिकाको नेपालसँगको सम्बन्ध सबल र चीरस्थायी रहिआएको उल्लेख गरे।

‘हामीले आज हस्तान्तरण गरेका विद्यालय सुरक्षित नेपाल पुनर्निर्माणमा अमेरिकी जनताको सहयोगको दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब हुन्’, राजदूतले भने। यस हस्तान्तरणले अझ सुरक्षित नेपाल पुनर्निर्माणमा अमेरिकाको निरन्तरको प्रतिबद्धता प्रदर्शन गरेको छ। २०७२ महाभूकम्पको व्यापक क्षतिले २० लाखभन्दा बढी बालबालिकाको शिक्षा अवरुद्ध भएको थियो। अमेरिकी सरकारको शिक्षाप्रतिको प्रतिबद्धताको उदाहरण प्रस्तुत गर्दै यूएसएडले विपद्‍माझ ९३ हजारभन्दा बढी विद्यार्थीलाई अझ सुरक्षित विद्यालयमा फर्कन सक्षम बनाएको राजदूतको भनाइ थियो।

यूएसएडले एक हजार ४५ वटा अस्थायी सिकाइ केन्द्रको निर्माण र शैक्षिक सामग्री वितरण गर्न युनिसेफ र शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको थियो। पुनर्निर्माणको चरणमा यूएसएडले दुई सय ५० वटा टिकाउ, अर्ध–स्थायी संक्रमणकालीन संरचनाको निर्माण सुरु ग‍रेको थियो। सोही समयमा यूएसएडले भूकम्पबाट अति प्रभावित सात जिल्लामा २९ वटा भूकम्पीय दृष्टिकोणले सुरक्षित, बालबालिका तथा अपांगमैत्री विद्यालय निर्माण गर्ने प्रतिबद्धता जनाएकोमा अमेरिकी सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा आठवटा सुरक्षित शैक्षिक भवन हस्तान्तरण गरिसकेको र यो वर्ष थप सातवटा हस्तान्तरण गरिने जनाएको छ।

भूकम्पपछिको पुनस्र्थापनामा अमेरिकाले १९ करोड अमेरिकी डलरभन्दा बढीको लगानी गरेको छ। त्यस अबसरमा झण्डै २३ हजार पेसाकर्मीलाई भूकम्प–प्रतिरोधी निर्माण विधिबारे तालिम प्रदान गरेको थियो। झण्डै दुई लाख २८ हजार व्यक्तिबाट ४५ हजार पाँच सयभन्दा बढी घर पुनर्निर्माणमा सहयोग पुगेको छ। यूएसएडले हाल सञ्चालनमा आइसकेको बाह्रबिसे प्राथमिक स्वास्थ्योपचार केन्द्रलगायत सात अत्यावश्यक स्वास्थ्य संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ – अन्नपूर्ण