काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता उत्पादनमुखी नभएको दाबी गरेकी छिन् । सोमबार बसेको बैठकमा सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सचेतक भुसालले सरकारको आगामी बजेटले मुलुकलाई समृद्धिको बाटोमा अगाडि नबढाउने दाबी गरिन् । नेतृ भुसालले बजेटले गरिबीको रेखामुनी रहेका २१ प्रतिशत जनतालाई आकर्षित गर्न नसक्ने र ३६ प्रतिशत भोकमरीमा रहेका जनताको समस्यालाई सम्बोधन गर्न पनि नसक्ने बताइन् ।
सचेतक भुसालले कानुन कार्यान्वयन पक्ष अत्यन्तै फितलो देखिएको बताइन् । उनले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने उदेश्यले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकमा प्रस्ताव गरिएको प्रावधानले सरकार मौलिक हकको कानुन कार्यान्वयन गर्छ भन्नेमा कांग्रेसलाई विश्वास नभएको बताइन् ।
‘‘लोकतन्त्रको चौथो अंगका रुपमा रहेको मौलिक हकले सुरक्षा दिएको सञ्चारको अधिकारलाई, पत्रकारहरुको अधिकारलाई कार्यान्वयन गर्ने पक्ष यो सरकारको अत्यन्तै फितलो देखिएको छ,’’ नेतृ भुसालले भनिने, ‘‘भर्खरै मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक ल्याएर लोकतन्त्रको दुहाई दिने यो सरकार मौलिक हकको कार्यान्वयन गर्छ भन्ने कुरामा हामीलाई विश्वास घट्दै गएको छ ।’’












