काठमाडौं – राष्ट्रिय जनता पार्टीले सरकारले संसदमा दर्ता गरेका कतिपय बिधेयक अलोकतान्त्रिक भएको भन्दै ती विधेयक फिर्ता लिन आग्रह गरेको छ। पार्टीको अध्यक्षमण्डलका अध्यक्ष शरतसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपछि बिज्ञप्ति जारी गर्दै राजपाले यस्तो आग्रह गरेको हो।
वक्तव्यमा भनिएको छ,‘अहिले सरकारले मानवअधिकार माथि अंकुश लगाउने गरी ल्याएको राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक, प्रेस स्वतन्त्रतालाई हन्न गरी नियन्त्रण गर्न ल्याएको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र प्रधानमन्त्रीले चाहेमा सेना परिचालन गर्न सक्ने गरी राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको विपरीत र लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेकोले राष्ट्रिय जनता पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।’ यी तीनवटै विधेयक अविलम्व फिर्ता लिन माग गर्दै अन्यथा यसबाट उत्पन्न हुने भयावह परिस्थितिको लागि सरकार स्वयं जिम्मेवार हुने चेतावनी राजपाले दिएको छ।












