बुटवल, १० जेठ । सरकारले मृगौलाको डायलाइसिस र विभिन्न आठ प्रकारका कडा रोगहरुको निःशुल्क उपचार गरेको रकम सात महिनादेखि नदिएको अस्पतालहरुले गुनासो गरेका छन् । सरकारले विपन्न नागरिकलाई मृगौलाको डायलाइसिस र विभिन्न आठ प्रकारका कडा रोगहरुमा एक लाख रुपैयासम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउने नीति अनुसार त्यस बापतको रकम आफुहरुले पाउन बांकी रहेको यस क्षेत्रका १२ वटा अस्पतालहरुले बताएका छन् ।
बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुले विरामीको उपचार गरे बापत सरकारबाट पाउनु पर्ने रकम यथाशीघ्र उपलब्ध गराउन माग गरेका छन् । सरकारबाट पाउनु पर्ने रकम ७ महिना देखि बांकी रहेको र पछिल्लो ५ महिनाको मात्रै ८ करोड ४६ लाख रुपैया बक्यौता रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए । रोकिएका कारण अस्पतालका डाक्टर, कर्मचारीको तलब तथा औषधी खरिदमा समस्या भएको क्रिमसन अस्पतालका संचालक सुरज भट्टराईले बताए । सरकारले उपलब्ध गराउंदै आएको उक्त सेवा नेपालका विभिन्न ८० वटा अस्पताल मध्ये प्रदेश ५ का १२ वटा अस्पतलाबाट प्रदान भइरहेको छ । औषधी तथा उपकरणहरुको मूल्य बढ्दै गइरहेको अवस्थामा निशुल्क उपचार शुल्कलाई समेत वृद्धि गर्नुपर्ने अस्पतालहरुको माग छ ।










