के हो श्रीकृष्णका १६ हजार पत्नीको रहस्य ?

प्रकाशित मिति:

एजेन्सी -भगवान् कृष्णका अनेकौं लीलामध्ये सोह्र हजार पत्नीहरूको प्रसंग पनि आउँछ । कसरी श्रीकृष्णले सोह्र हजार पत्नीसँग विवाह गर्नुभयो त पौराणिक कथाहरूका अनुसार एक दिन देवराज इन्द्रले भगवान् श्रीकृष्णलाई प्राग्ज्योतिषपुरका दैत्यराज भौमासुरको अत्याचारका बारेमा अवगत गराए ।

इन्द्रको प्रार्थना स्वीकार गरेर श्रीकृष्ण आफ्नी प्यारी पटरानी सत्यभामाका साथ गरुडमा सवार भएर प्राग्ज्योतिषपुर पुगे । त्यहाँ पुगेर भगवानले मुर दैत्यको वध गर्नुभयो ।मुर दैत्यको वध भएको खबर पाएपछि भौमासुर आफ्ना सेनापति तथा दैत्यहरूको सेनालाई साथ लिएर युद्ध गर्न आयो । भौमासुरलाई स्त्रीको हातबाट मर्ने श्राप थियो । त्यसैले भगवानले सत्यभामालाई सारथी बनाउनुभयो र घोर युद्धपछि अन्त्यमा उहाँले सत्यभामाको सहयोगमा उसको वध गरिदिनुभयो ।

यसरी भौमासुरलाई श्रीकृष्णले मारेपछि उसको पुत्र भगदत्तलाई अभयदान दिएर उसलाई प्राग्ज्योतिषको राजा बनाउनुभयो । भौमासुरले अपहरण गरेर राखेका १६ हजार कन्यालाई उहाँले मुक्त गरिदिनुभयो ।ती अपहृत नारीहरूलाई तत्कालीन समाजले स्वीकार नगर्ने भएकाले श्रीकृष्णले उनीहरूलाई पत्नीरूपमा स्वीकार गर्नुभयो ।यसरी उहाँका आठ पटरानीका अलावा १६ हजार पत्नी भए ।